काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘उत्कृष्टताको सम्मान, उपलब्धिको उत्सव’ भन्ने नारासहित राष्ट्रिय अभिकर्ता सम्मान समारोह २०८३ आयोजना गरेको छ।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा आयोजित कार्यक्रममा देशभरबाट छनोट भएका करिब ३ सय प्रमुख अभिकर्ता प्रबन्धक, स्टार अभिकर्ता प्रबन्धक, बीमा सल्लाहकार तथा अभिकर्ता सहभागी भएका थिए।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अभिकर्ता तथा अभिकर्ता प्रबन्धकलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा पुरस्कार वितरणसँगै अभिकर्ताका लागि पुनर्ताजगी कार्यक्रम तथा व्यवसायिक रणनीतिसम्बन्धी छलफलसमेत गरिएको थियो।
कमलप्रसाद घिमिरेले पाए प्रमुख सम्मान
बुटवल पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरेले कार्यक्रममा विभिन्न प्रमुख सम्मान प्राप्त गरेका छन्। उनले स्वकोड तथा बिडिआई टोली व्यवसायतर्फ सूर्यज्योति ओजस्वी रत्न पुरस्कार २०८२ तथा स्वकोड व्यवसायतर्फ सूर्यज्योति रत्न पुरस्कार २०८२ प्राप्त गरेका हुन्।
त्यस्तै, सूर्यज्योति रत्न पुरस्कार २०८२ अन्तर्गत बिडिआई टोली व्यवसायतर्फ कमलप्रसाद घिमिरे, कृष्ण पराजुली, कृष्णप्रसाद भट्ट, लक्ष्मी तिमल्सिना, कल्पना सिवाकोटी, उपेन्द्र राई र रेखा पोखरेल घिमिरे सम्मानित भएका छन्।
विभिन्न विधामा अभिकर्ता सम्मानित
कम्पनीले कार्यक्रममा विभिन्न उपलब्धिका आधारमा अभिकर्ता तथा व्यवस्थापकलाई सम्मान गरेको थियो। एमडीआरटी ग्लोबल सम्मेलन २०२७ का लागि छनोट भएका अभिकर्ता, उत्पादन दूत, अध्यक्ष क्लब, प्रदेशस्तरीय उत्कृष्ट छनोट, स्टार अभिकर्ता प्रबन्धक, सर्वाधिक बीमालेख बिक्री, सर्वाधिक सक्रिय अभिकर्ता भर्ती, उत्कृष्ट १० व्यवसाय योगदानकर्ता तथा वर्षको उत्कृष्ट अभिकर्ता टोलीलगायतका विधामा पुरस्कार प्रदान गरिएको थियो।
कम्पनीका विभिन्न बीमा योजनाको प्रवर्द्धनमा योगदान पुर्याउने गौरवकुमार शाही, सुरज हुमागाईं र सिमरन पुनलाई सूर्यज्योति सजिलो भुक्तानी तथा थ्री ट्वान्टी योजनाका उत्पादन दूतका रूपमा सम्मान गरिएको थियो।
त्यस्तै, उत्कृष्ट बिक्री, अभिकर्ता भर्ती तथा बीमालेख जारी गर्ने कार्यमा योगदान पुर्याएका बुटवल पाल्पा रोड शाखा र दमौली शाखालाई समेत ढालसहित सम्मान गरिएको थियो।
प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए तीन प्राथमिकता
कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले संस्थागत विकासका लागि तीन महत्वपूर्ण आधार प्रस्तुत गरेका थिए।
उनका अनुसार अभिकर्तामार्फत टोली विस्तार, कर्मचारीबाट उत्कृष्ट सेवा र बीमितको विश्वास निर्माण कम्पनीको विकासका मुख्य आधार हुन्।
उनले कम्पनीले प्राप्त गरेको आईएसओ ९००१:२०१५ प्रमाणीकरण तथा मोबाइल अनुप्रयोगमार्फत गरिएको डिजिटल सुधारलाई समेत कम्पनीको प्रगतिको महत्वपूर्ण हिस्सा भएको बताए।
अध्यक्ष भट्टराईद्वारा अभिकर्ता र कर्मचारीको प्रशंसा
कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले अभिकर्ता तथा कर्मचारीले गरेको निरन्तर मेहनत र योगदानको प्रशंसा गरे।
उनले संस्थाभित्र एकता कायम गर्दै सेवा गुणस्तरलाई निरन्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। सूर्यज्योति लाइफलाई अग्रणी तथा विश्वसनीय जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्न अभिकर्ता र कर्मचारीको निरन्तर योगदान महत्वपूर्ण रहने उनको भनाइ थियो।
राष्ट्रिय अभिकर्ता सम्मान समारोहमार्फत कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा व्यवस्थापकलाई प्रोत्साहन गर्नुका साथै आगामी दिनमा व्यवसाय विस्तार, सेवा सुधार र बीमितको विश्वासलाई थप मजबुत बनाउने रणनीतिमा जोड दिएको छ।
