यो साता दोस्रो कारोबारमा आज बुधबार शेयर बजार ३६.२५ अंकले घटेर २६१.१७ बिन्दुमा झरेको छ। ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको बजारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। २५३ कम्पनीको शेयर मूल्य घटेको छ।
यो साता सोमबार डाटा हबको समस्याका कारण बन्द रहेको शेयर बजार हिजो मंगलबार ७.८५ अंकले बढेको थियो। त्यसअघि गएको साता शुक्रबार २२.८५ अंक र बिहीबार ११.९३ अंकले बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
शेयर बजार पछिल्ला केही वर्षदेखि निरन्तर उतारचढावपूर्ण अवस्थामा नै देखिएको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
२०८१ साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसपछि उतारचढावमा देखिएकोमा २०८२ साउन १३ गते ३००२.०८ बिन्दुमा पुगेको थियो। त्यसयता बजार उतारचढावकै अवस्थामा छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र ब्याजदर इतिहासकै न्यून बिन्दुनजिक हुँदासमेत सेयर बजारले स्थायीरूपमा गति लिन सकेको छैन। २५०० देखि २६०० कै बिन्दुमा बजार तलमाथि गरिरहँदा त्यो मनोवैज्ञानिक आधार बिन्दु पार गर्न नै कठिन भइरहेको देखिन्छ।
बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा लगानीकर्ता तयार देखिँदैनन्। सम्पत्ति शुद्धीकरण र छानबिनको त्रासका साथै नियामक निकायहरूबाट भइरहेका विभिन्न अनुसन्धान र सम्पत्ति विवरण खोजिने डरका कारण ठूला लगानीकर्ताहरू खुलेर लगानी गर्न डराइरहेका देखिन्छन्।
बजारको अवस्थाले साना लगानीकर्ता पनि विश्वस्त हुन सकेका छैनन्।
आज कूल ३५२ कम्पनीका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा ५७ हजार ९४७ पटक शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
