वर्षाका कारण दुई जनाको मृत्यु, २९ वटा सडक अवरुद्ध

वर्षाका कारण आएको बाढीपहिरो र हावाहुरीका कारण देशभरमा दुई जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । एक जना घाइते र पाँचवटा घरमा क्षति पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार शुक्रबार आएको वर्षाका कारण देशका विभिन्न भागमा सो क्षति भएको हो। मृत्यु हुनेमा धादिङका एक जना र डोल्पाका एक जना रहनुभएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ का ३३ वर्षीय मनरुप केसीलाई गाईगोठमा सुतिरहेको अवस्थामा भिरबाट ढुंगा खसेर लागेको थियो । गम्भीर घाइते भएपछि स्थानीय स्वास्थ्य चौकी लैँजादै गर्दा मृत्यु भएको थियो । सोही घरमा सुतिरहेका ३८ वर्षीय चन्द्ररुप केसी घाइते भएका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका, वडा नं २ का ५५ वर्षीया सुकुमाया चेपाङ्गलाई खानीखोला तर्ने क्रममा खोलाले बगाएको थियो ।

मलेखुस्थित अस्पतालमा उपचारका क्रममा चेपाङ्गको मृत्यु भएको थियो । पहिरोमा परी पाल्पा रुम्दीकोट गाउँपालिका वडा नं ६ का ५९ वर्षीया कृष्णकुमारी सारु शनिबार दिउँसो २ः४५ बजेदेखि बेपत्ता भएका छन् ।  पहिरोले घर पुरिएपछि सारु हालसम्म सम्पर्कविहीन रहनुभएको प्राधिकरणले जनाएको छ।

वर्षाका कारण पाल्पाको रुम्दीकोट गाउँपालिकाका दुईवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । पहिरोका कारण पुरिँदा स्थानीय केशुराम सारु मगर र रामबहादुर उचाईको घर क्षतिग्रस्त भएका हुन् ।

त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका ३ का धनप्रसाद योङ्गहाङ्गको घर ढली पूर्णरुपमा क्षति भएको थियो ।

ओखलढुंगाको सिद्धिचरण गाउँपालिका, वडा नं २ का भीमबहादुर कार्कीको घरको गारो भत्किएको छ । त्यसैगरी अछामको तुर्माखाँद गाउँपालिका ४ मा हावाहुरीका कारण कच्ची घरको जस्तापाता उडाएपछि उहाँहरुको परिवार छिमेकीको घरमा बसिरहेका छन् ।

२९ सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र लेदोसहितको बहावले देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक सडकखण्ड अवरुद्ध भएका छन् ।

प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार शनिबार बिहान ७ बजेसम्म कुल २९ वटा मुख्य सडकखण्ड प्रभावित भएका छन् । प्राधिकरणका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्गमा सवारी आवागमन ठप्प भएको छ ।

कोशी प्रदेशको सुनसरी, पाँचथर, इलाम र सोलुखुम्बु क्षेत्रका चतरा–बराहक्षेत्र, मध्यपहाडी लोकमार्ग, राँके–रवि–भेडेटार, मेची करिडोर तथा सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

बागमती प्रदेशका काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्गका विभिन्न खण्ड -कृष्णभिर, टिढराखानी, परेवाटार, कान्ति लोकपथ, मदन भण्डारीरअरनिको राजमार्ग, बिपी राजमार्ग र कुलेखानी–सिस्नेरी खण्ड पहिरो तथा बाढीका कारण प्रभावित भएको छ ।

अरनिको राजमार्गको धुलिखेल–पकुचा खण्ड भने एकतर्फी सुचारु रहेको छ ।

गण्डकी प्रदेशका मनाङको चामे–बेशीशहर खण्ड, म्याग्दीको बेनी–जोमसोम सडक र पर्वतको पोखरा–बेनी–बागलुङ सडक पहिरो तथा रुख ढलेका कारण अवरुद्ध भएका छन् ।

लुम्बिनी प्रदेशका कालिगण्डकी करिडोर, मदनभण्डारी राजमार्ग -स्यालबिसौना, सिद्धार्थ राजमार्ग केराबारी र घोराही–थवाङ सहिदमार्ग पहिरोका कारण ठप्प छन् ।

कर्णाली प्रदेशको कालिकोटको शुभकालिकास्थित कर्णाली राजमार्ग र सल्यानको कपुरकोटस्थित राप्ती राजमार्ग पहिरोका कारण बन्द रहेका छन् ।

सडक विभाग तथा सुरक्षा निकायको टोली पहिरो पन्छाउने र अवरुद्ध राजमार्गलाई पुनः सञ्चालनमा ल्याउने कार्यमा निरन्तर खटिरहेको प्राधिकरणले जनाएको छ । सर्वसाधारणलाई सडकको स्थिति बुझेर यात्रा गर्न प्राधिकरणले अनुरोध गरेको छ ।