अनामनगरस्थित युनियन हाउसमा रैथाने नेपाली खानालाई प्राथमिकता दिँदै ‘ रेसुङ्गा भोजनालय’ सञ्चालनमा आएको छ । भोजनालयले गाउँघरमा प्रचलित मौलिक नेपाली परिकारलाई आधुनिक तथा व्यवस्थित शैलीमा ग्राहकसमक्ष प्रस्तुत गर्ने जनाएको छ ।
अनामनगर युनियन हाउसका अध्यक्ष सूर्य माखिमले युनियन हाउसलाई पछिल्लो दुई वर्षदेखि थप व्यवस्थित र स्तरोन्नति गर्दै हस्पिटालिटी हबका रूपमा विकास गरिएको बताएका छन् । यहाँ ब्यांक्वेट, रेस्टुरेन्ट, क्याफे, प्रेस क्लब, अध्ययन केन्द्र तथा डिलक्स बेडरुमलगायतका सेवा उपलब्ध उनले बताए ।
माखिमले युनियन हाउसलाई आगामी १० वर्षभित्र फाइबस्टार होटलको स्तरमा पु¥याउने लक्ष्य रहेको बताए । त्यसका लागि सेवा, कर्मचारीको दक्षता, वातावरण तथा पूर्वाधारमा अहिलेबाटै आवश्यक अभ्यास र तयारी सुरु गरिएको उनले बताए ।
उनले रेसुङ्गा भोजनालयमार्फत गाउँघरमा पाइने मौलिक स्वादलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न खोजिएको बताए । उनका अनुसार एउटै थालीमा भात, दाल, साग, गुन्द्रुक, मासु, माछा, अचारलगायतका विभिन्न परिकार समेटेर ‘रैथाने नेपाली स्वाद’ प्रस्तुत गरिनेछ ।
युनियन हाउसका अध्यक्ष माखिमका अनुसार भोजनालयमा पारिवारिक जमघट, पार्टी, विवाह भोज तथा विभिन्न कार्यक्रम आयोजना गर्न सकिनेछ । त्यसका लागि ब्यांक्वेट तथा इभेन्ट सेन्टरसँगै कार्यक्रमपछि बस्न चाहनेका लागि डिलक्स कोठाको समेत व्यवस्था गरिएको छ ।
यस्तौ गरी, रेसुङ्गा भोजनालयका सञ्चालक शिव पौडेलले आफूले लामो समयदेखि नेपाली रैथाने खानालाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने योजना बनाए पनि विभिन्न परिस्थितिका कारण ढिलाइ भएको बताए । अहिले युनियन हाउससँगको सहकार्यमा उक्त योजना कार्यान्वयनमा आएको उनले बताए ।
पौडेलका अनुसार भोजनालयमा दाङको बधिया भाले, बोकाको मासु, पक्कु, रक्ती, भुटन, स्थानीय कुखुरा तथा ढिँडोलगायतका परिकार मुख्य आकर्षणका रूपमा रहने छन् । स्थानीय शैलीमा तयार गरिएका परिकारलाई स्वच्छ र व्यवस्थित रूपमा ग्राहकसमक्ष पु¥याउने उनले बताए ।
उनले आफू मुख्य सेफका रूपमा काम गर्दै आएको र आफ्नै शैलीमा खाना तयार गर्न सक्ने १० देखि १२ जना सेफ तयार गरिसकेको बताए । बाहिरबाट सेफ ल्याउनेभन्दा आफ्नै जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने योजना रहेको पनि उनले जानकारी दिए ।
रेसुङ्गा भोजनालयमा परिवार तथा समूहका लागि आवश्यकताअनुसार विभिन्न परिकार तयार गर्ने व्यवस्था रहेको सञ्चालकले बताए । ग्राहकले आफ्नो रुचिअनुसार भाले तथा अन्य परिकार छनोट गरी खान सक्नेछन् ।
सञ्चालक पौडेलले अन्य पार्टी प्यालेसमा प्रायः पाइने परिकारभन्दा फरक रूपमा मौलिक नेपाली खानालाई कार्यक्रमको मेनुमा समेट्ने योजना रहेको बताए । नेपाली समाजका विभिन्न भूगोल र समुदायमा प्रचलित स्थानीय परिकारलाई पार्टी तथा इभेन्टको मेनुमा समावेश गर्दै लैजाने उनले बताए ।
रेसुङ्गा भोजनालयले आजदेखि सफ्ट ओपनिङ सुरु गरेको हो । सञ्चालकहरूले नेपाली मौलिक खानालाई आधुनिक आतिथ्य सेवासँग जोडेर नयाँ अनुभव दिने उद्देश्य रहेको बताए ।
