बागलुङ र पाल्पामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, ३ बेपत्ता

बागलुङ र पाल्पामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३ जना बेपत्ता भएका छन्।

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोराको पहिरोमा पुरिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा मनोज, मुकेश र निसान विक छन्। केहीबेर अघि मात्रै घटना स्थलमा तीन जनाको शव फेला परेको छ।

पाल्पामा पनि पहिरोमा परेर दुईको मृत्यु भएको छ। अन्य तीन जना बेपत्ता छन्।

माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको हो।

माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परेर मृत्यु भएको हो।

दुवै जनाको शव पहिरोबाट निकालिएको छ। दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ।

पहिरोमा परेर तीन जना बेपत्ता भएका छन्।

माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको छ।

घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका प्रहरीले जनाएको छ। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।