ट्रम्पद्धारा सी जिनपिङलाई अमेरिकी हतियार किन्ने ? राजदूत डेभिड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनले अमेरिकाबाट हतियार किन्न चाहन्छ कि भनेर सोधेको चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यूले बताएका छन्।

पर्ड्यूले फक्स न्यूज सन्डे सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै ट्रम्पको ताइवान र चीनसम्बन्धी नीतिबारे चर्चा गर्ने क्रममा यस्तो खुलासा गरेका हुन्।

उनका अनुसार ट्रम्पले अमेरिकाले विश्वका विभिन्न देशलाई हतियार बिक्री गर्ने गरेको उल्लेख गर्दै सीसँग पनि अमेरिकी हतियार खरिद गर्न इच्छुक भएरनभएको प्रश्न गरेका थिए। पर्ड्यूले भने उक्त कुराकानी कहिले भएको थियो, कुन हतियारबारे चर्चा भयो वा सीले त्यसको जवाफ के दिए भन्ने खुलाएका छैनन्।

पर्ड्यूको भनाइ ट्रम्प र सीबीच वासिङ्टनमा भएको पछिल्लो शिखर भेटवार्तापछि आएको हो। ट्रम्पले ताइवानलाई अमेरिकी हतियार बिक्रीको विषय चीनसँगको सम्बन्धमा उठ्दा अमेरिकाले विश्वका अन्य देशलाई पनि हतियार बिक्री गर्ने गरेको भन्दै त्यसलाई सामान्य व्यापारिक गतिविधिका रूपमा प्रस्तुत गरेको पर्ड्यूले बताएका छन्।

उनले ट्रम्पले सीसँग अमेरिकी हतियार खरिदको सम्भावनाबारे प्रश्न गरेको प्रसंगलाई आफ्नो “डििल मेकिङ” शैलीसँग जोडेर व्याख्या गरेका छन्।

तर चीनलाई अमेरिकी हतियार बिक्री गर्ने विषयमा अमेरिकी कानुनले महत्वपूर्ण प्रतिबन्धहरू लगाएको छ। अमेरिकी रक्षा सामग्री तथा सैन्य प्रविधिको निर्यातसम्बन्धी नियमले चीनतर्फ त्यस्ता सामग्रीको बिक्रीमा कडा नियन्त्रण कायम राखेको छ।

त्यसैले पर्ड्यूले उल्लेख गरेको ट्रम्पको प्रश्नलाई हालसम्म कुनै औपचारिक हतियार बिक्री सम्झौता वा स्वीकृतिका रूपमा प्रस्तुत गरिएको छैन। अमेरिकी प्रशासनका अधिकारीहरूले पनि बेइजिङलाई हतियार बेच्ने कुनै योजना नरहेको बताएका छन्।