नेपाली कांग्रेसका नेता विनोद चौधरीले आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन पार्टीको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नेता चौधरीले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई देशको आर्थिक रूपान्तरण, युवा पुस्ताको आकांक्षा सम्बोधन र कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने संकल्पका लागि भएको स्पष्ट पारेका छन् ।
नेता चौधरीले अब ‘राजनीतिका लागि राजनीति’ गरेर देशमा रूपान्तरण सम्भव नहुने भन्दै आर्थिक समुन्नतिको स्पष्ट योजनामा काम गर्नुपर्ने र त्यसको जिम्मेवारी सम्हाल्न आफू तयार रहेको बताएका छन् ।
‘देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरूलाई नेतृत्वमा स्थापित गर्नुपर्छ,’ चौधरीले लेखेका छन्, ‘साथै, आर्थिक समुन्नतिको स्पष्ट भिजन भएका नेताहरूलाई नेतृत्व तहमा पुर्याई आर्थिक रूपान्तरणमा नयाँ अध्याय शुरू गर्नुपर्नेछ ।’
उनले आफू जेन–जी आन्दोलनले दिएको युगान्तकारी सन्देश, परिवर्तनको जनआकांक्षा र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धताका साथ अघि बढेको उल्लेख गरेका छन् । युवा नेतृत्वलाई स्थापित गर्दै जनअपेक्षाअनुसारको कांग्रेस निर्माण गर्न आफू समर्पित रहेको पनि उनले बताएका छन् ।
नेपालले राजनीतिक परिवर्तनका धेरै चरण पार गरिसके पनि आर्थिक विकास र रोजगारी सिर्जनाले अपेक्षित गति लिन नसकेको यथार्थ औंल्याउँदै चौधरीले कांग्रेस नेता गगन थापासँग आर्थिक रूपान्तरणका एजेन्डामा निरन्तर सहकार्य गरिरहेको जनाएका छन् ।
विगतमा २०४८ देखि २०५१ सालसम्म कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको आर्थिक उदारीकरण र सुधारको यात्रालाई स्मरण गर्दै उनले भनेका छन्, ‘त्यतिबेला सरकारका तर्फबाट महेश आचार्य र डा। रामशरण महतले भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतले मैले निजी क्षेत्रबाट आर्थिक उदारीकरणलाई संस्थागत गर्न गहन भूमिका निर्वाह गरेको थिएँ । तर समयसँगै ती सुधारलाई दोस्रो चरणमा लैजान नसक्दा अपेक्षित गति लिन सकिएन ।’
बीपी कोइरालाको दूरगामी राजनीतिक सोच र सुवर्ण शमशेर जबराले हालेको आर्थिक विकासको जगलाई समृद्ध बनाउने सपना साकार पार्न आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
देश विकासका लागि राजनीतिक नेतृत्वको दूरदृष्टि र आर्थिक विज्ञ तथा नीति–निर्माताबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिँदै उनले लेखेका छन्, ‘हामीलाई अब केवल आकर्षक नारा होइन, नयाँ आर्थिक सोच, स्पष्ट नीति, सक्षम कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व चाहिएको छ । युवाको ऊर्जा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्दै नेपाललाई उत्पादनमुखी र प्रतिस्पर्धी अर्थतन्त्र बनाउने समय यही हो ।’
आर्थिक रूपान्तरणमार्फत देशको विकासको नेतृत्व कांग्रेसले नै गर्न सक्छ भन्ने पुष्टि गर्न र कांग्रेसलाई आधुनिक एवं जनमुखी बनाउन उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग मत र साथका लागि अपिल गरेका छन् ।
