काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बैंकको साधारण सभा २०८२ असोज २८ गते बुधबार काठमाडौंको डिल्लीबजारस्थित कालिकास्थानको अमृतभोगमा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।
५.५० प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश
सभाले २०८२ असार मसान्तसम्म कायम बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ९ लाख ८६ हजार ६६९ रुपैयाँको ५.५० प्रतिशतका दरले बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। त्यसैगरी, कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ। बैंकको विवरणअनुसार पछिल्ला २० वर्षको औसत लाभांश दर १०.०६ प्रतिशत रहेको छ।
वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृत
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार तयार गरिएको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ।
सभामा शेयरधनीहरूले दिएका सुझावअनुसार बैंकका गतिविधि सञ्चालन गर्ने तथा आगामी दिनमा बैंकको प्रगति र सेवा विस्तारका लागि शेयरधनीहरूको सहयोग र सद्भावना निरन्तर आवश्यक रहने विषयमा जोड दिइएको थियो।
बैंकले संस्थागत सुशासन र नियामकीय अनुपालनलाई उच्च प्राथमिकता दिँदै आएको र आगामी दिनमा यी पक्षलाई थप सक्षम तथा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, शेयरधनी तथा अन्य सरोकारवालाले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ।
‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि
सिटिजन्स बैंकले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको जनाएको छ।
बैंकले फोनपे नेपालको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको थियो। त्यसैगरी, बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजिटल बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ। क्रियाशील ग्राहकलाई लक्षित गरी ‘क्रियाशील सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको छ।
यसका अतिरिक्त, बैंकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन दिन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ। बैंकले क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखाबाट तोकिएको टेलर शुल्कमा नगद प्राप्त गर्न सक्छन्।
५१ जिल्लामा २०० शाखा, २० लाखभन्दा बढी ग्राहक
सिटिजन्स बैंकले देशभरका ५१ जिल्लामा फैलिएको २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकका अनुसार यी सञ्जालमार्फत २० लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले डिजिटल सेवा, नवीन बैंकिङ सुविधा तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सेवा विस्तार र गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
