भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति

  • Clock icon
    २०८३ आश्विन २९, बिहीबार
birajbhakta shrestha

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएयताका ६ महिनामा भएका मुख्य उपलब्धि तथा प्रगति विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्राकृतिक विपद्का कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि सेवा पुनःस्थापना र विकास निर्माणका कामलाई निरन्तरता दिइएको उनको भनाइ छ ।त्यसैगरी, २४ घण्टे टोल फ्री नम्बर (११५१), ह्वाट्सएप र ‘एआई साथी’ च्याटबटमार्फत नागरिक सेवा सहज बनाइएको छ। नेपाल-भारत ऊर्जा सचिवस्तरीय १३औँ बैठकबाट ढल्केबर-मुजफ्फरपुर र ढल्केबर-सीतामढी प्रसारण लाइनमार्फत विद्युत् आयात क्षमता १,००० बाट १,४०० मेगावाट र निर्यात क्षमता १,१०० बाट १,६५० मेगावाट पुर्‍याउने ऐतिहासिक सहमति भएको छ।

साथै, चमेलिया–धौलीगंगा, मोतिहारी-निजगढ र मुजफ्फरपुर-ढल्केबर लगायतका महत्त्वपूर्ण अन्तरदेशीय प्रसारण लाइनका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएका छन्।

सिँचाइतर्फ बबई, सिक्टा, रानी जमरा कुलारिया र महाकाली सिँचाइ आयोजनामार्फत हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुनुका साथै राष्ट्रिय गौरवका आयोजनाहरूलाई आगामी २ देखि ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसका साथै, विद्युत् नियमन आयोगले नयाँ महसुल निर्देशिका जारी गरेको छ भने विद्युत् विकास विभागले विभिन्न आयोजनाहरूलाई कुल १६२३ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ।

  • Clock icon
    २०८३ आश्विन २९, बिहीबार