यती एअरलाइन्सबाट यात्रा गर्दा ५ लाख ७१ हजारको स्कुटर जित्ने मौका

  • Clock icon
    २०८३ आश्विन २९, बिहीबार

काठमाडौं -यती एअरलाइन्सले दसैँ, तिहार र छठलाई लक्षित गर्दै यात्रुका लागि विशेष उपहार योजना ल्याएको छ।

‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नाम दिइएको अभियानअन्तर्गत यात्रुले बम्पर उपहारमा ५ लाख ७१ हजार रुपैयाँ मूल्यको पुजो ज्याङ्गो १२५ स्कुटर जित्ने अवसर पाउनेछन्।

अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियान असोज २३ देखि सुरु भएको हो। कात्तिक ३० गतेसम्म ३९ दिन चल्ने यस योजनामा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको कम्पनीले जनाएको छ।

चाडपर्वमा पारिवारिक भेटघाट र आवतजावत गर्ने यात्रुलाई थप उत्साहित बनाउने उद्देश्यले अभियान ल्याइएको यती एअरलाइन्सले जनाएको छ।

कम्पनीका अनुसार यात्रुहरूले लामो समयदेखि देखाउँदै आएको विश्वास र साथप्रति आभार व्यक्त गर्दै चाडपर्वको यात्रालाई विशेष बनाउन यो योजना सञ्चालन गरिएको हो।

अभियान अवधिमा यती एअरलाइन्सको टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रु स्वतः भाग्यशाली छनोट प्रक्रियामा सहभागी हुनेछन्। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन।

तर, रद्द गरिएका, रकम फिर्ता लिइएका वा प्रयोग नगरिएका टिकट भने छनोट प्रक्रियामा समावेश गरिने छैनन्। यात्रुहरूले हवाई टिकट खरिद गरी यात्रा पूरा गरेपछि उपहार जित्ने अवसर प्राप्त गर्नेछन्।

योजनाका विजेता आगामी डिसेम्बर १, २०२६ मा यती एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी घोषणा गरिने कम्पनीले जनाएको छ।

बम्पर पुरस्कारमा पुजो ज्याङ्गो १२५ स्कुटर राखिएको छ भने साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसर पनि हुनेछ। यस योजनाले दसैँ, तिहार र छठको यात्रालाई थप रमाइलो बनाउनुका साथै यात्रुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीको अपेक्षा छ।

  • Clock icon
    २०८३ आश्विन २९, बिहीबार