मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते भएका छन्।
आज कार्तिक १५ गते जमिनमा गाडिएको अवस्थामा रहेको पुरानो सकेटजस्तो देखिने शंकास्पद वस्तु पड्किँदा स्थानीय दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा विराटनगर–१५ बस्ने ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली रहेको मोरङ प्रहरीले जनाएको छ ।
घटनालगत्तै सीमा प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पठाएको थियो। घाइते दुवै जनाको अवस्था सामान्य रहेको छ।
जमिनमा पहिलेदेखि नै गाडिएर रहेको पुरानो सकेट बम जस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा पड्किन पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
