आज नोभेम्बर २०- विश्व बाल दिवस

कुमारो रमणीयो वै सदैव प्रियदर्शनीयः।

शिशोः स्पर्शः सुखं दद्यात् सर्वेषां हृदयान्वितम्॥

बालबालिका आकर्षक र हेर्नका लागि रमाइलो हुन्छन्। उनीहरूको स्पर्शले मात्र सबैको मनमा आनन्द र न्यानोपन ल्याउँछ।

बाल दिवसलाई विभिन्न देशमा भिन्दाभिन्दै मितिमा मनाउँदै आएको भए तापनि अन्तर्राष्ट्रिय रूपमा भने प्रत्येक वर्षको नोभेम्बर २० तारिखमा मनाइन्छ। यो दिन सन् १९५९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले बालअधिकारसम्बन्धी घोषणापत्र पारित गरेको र सन् १९८९ मा बालअधिकारसम्बन्धी महासन्धि (यूएनसीआरसी) पारित गरेको ऐतिहासिक अवसरको सम्झनामा मनाइन्छ।

बालबालिका अनि बालअधिकार सम्भवतः आजको विश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि विषयहरूमध्ये पर्दछन्। संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिअनुसार विश्वव्यापी रूपमा १८ वर्ष वा सोभन्दा कम उमेरका व्यक्तिहरूलाई बालबालिका भनिन्छ। सम्पूर्ण देश अनि समुदायलाई बालबालिकामैत्री वातावरण र कानुन तर्जुमा गर्नसमेत यस महासन्धिले उत्प्रेरणा दिएको छ।

यस दिन यूएनसीआरसी, यसका साझेदार संस्था, सरकार, व्यवसायी, अभिभावक, शिक्षक तथा विश्वभरका बालबालिकाहरूले बालअधिकारका विषयमा जनचेतना फैलाउँछन् र कुनै पनि प्रकारको भेदभावबिना प्रत्येक बालबालिकाको अधिकारको संरक्षण तथा सुनिश्चितताका लागि आवश्यक कदमहरू तीव्र बनाउन विश्वका नेताहरूलाई आह्वान गर्छन्।

यस वर्ष यो दिवस “मेरो दिन। मेरा अधिकार। मेरो भविष्य।” भन्ने नाराका साथ मनाइँदै छ।

बालबालिकाहरूलाई मन नपराउने मान्छे सायदै होलान्। उनीहरूको निर्दोषपन, मुस्कान अनि त्यो तोते बोलीमा फिदा नहुने मान्छे पनि सायदै होलान्। कसलाई बालबालिकासँग खेल्ने रहर नहोला ररु कसलाई उनीहरूसँग रमाउने रहर नहोला र ? बालबालिकाहरू भोलिको देशका भविष्य हुन्। भोलि विश्वमै ठूला(ठूला परिवर्तन र ठूला(ठूला आविष्कार गरी संसारलाई रूपान्तरण गर्न सक्ने क्षमता भएका आजका अबोध प्राणी हुन्। उनीहरूको हिफाजत गरी उनीहरूको शारीरिक, मानसिक, सामाजिक र शैक्षिक विकासका लागि विश्वभरिका देशहरू र प्रत्येक देशका प्रत्येक नागरिकले आ-आफ्नो तर्फबाट आ–आफ्नो सहयोग पुर्‍याउनु अपरिहार्य छ।

अन्तर्राष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकाहरूमाथि भइरहेको हिंसा र दुर्व्यवहारहरूको निराकरण गरी उनीहरूको व्यक्तित्वको विकास नरोक्किने खालको सहज परिस्थितिको जगेर्ना गर्नु हो।

संसारको जुनसुकै समुदाय वा जुनसुकै ठाउँ होस्, चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामीले खाजा खाने होटल, चाहे हामी चढ्ने सार्वजनिक सवारीसाधन होस् या त कुनै आपराधिक गतिविधि हुने ठाउँ, या त कसैको घरभित्र नै किन नहोस्, ती प्रत्येक ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बालबालिकाहरूको दुरुपयोग गरी उनीहरूमाथि हिंसा र दुर्व्यवहार भइरहेको हुन्छ। कतै हामीले प्रत्यक्ष रूपमा देखेका हुन्छौँ भने कतै हामीले देख्दादेख्दै पनि विचार पुर्‍याइरहेका हुँदैनौँ।