प्रधानमन्त्री वालेन्द्र शाह-बालेनको भारत भ्रमण स्वीकृत गर्नेसँगै मन्त्रिपरिषद्को बैठकले विभिन्न सात वटा निर्णय गरेको छ।
आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
प्रधानमन्त्री शाह पर्सी आइतबार मंसिर ६ गते दुई दिने भारत भ्रमणमा जाँदै छन्।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने दुई मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ‘र्यापिड क्रेडिट फेसिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबर निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
यससँगै मन्त्रिपरिषद्ले नेपाल भर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नाप जाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने निर्णय गरेको तिमिल्सिनाले जानकारी दिए।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६- २०३०) स्वीकृत गर्ने पनि निर्णय गरेको छ।
त्यस्तै, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
यसैगरी, राष्ट्रिय झोलुंगे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले बताए।
