प्रधानमन्त्री बालेन्द्र शाह- बालेनको आसन्न भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली सहभागी हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्टिज, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल, नेपाल तयारी पोशाक उद्योग संघ, होटेल एसोसिएसन अफ नेपाल९हान० लगायतका निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि सहभागी हुने छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको दुईदिने राजकीय भ्रमणमा व्यवसायीहरूको उक्त टोली आफ्नै खर्चमा सहभागी हुने जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १स्४५ बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत भारत प्रस्थान गर्नेछन् र भ्रमण सम्पन्न गरी मंसिर ७ गते साँझ १८स्३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।
नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण दल ३४ सदस्यीय रहनेछ । जसमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार लगायत उच्चपदस्थ अधिकारीहरू रहनेछन् भने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही सदस्यहरू थपिनेछन् ।
यस्तै, निजी क्षेत्रको बिजनेस डेलिगेसन ९५२ सदस्यीय व्यवसायी टोली० सँगै भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चार माध्यमका पत्रकारहरू पनि निजी खर्चमै भारत जानेछन् ।
नेपाल–इन्डिया बिजनेस फोरम र लगानी आकर्षण
भ्रमणका क्रममा ‘नेपाल–इन्डिया बिजनेस फोरम’ को विशेष छलफल कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने मुख्य उद्देश्यका साथ आयोजना हुने उक्त फोरममा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिनेछ।
कार्यक्रममा भारतीय व्यवसायी समुदायका चासो र सरोकारहरू सुनिने तथा भारतबाट थप लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासहरू प्रस्तुत गरिनेछ । परराष्ट्र मन्त्रालयले यो कार्यक्रम नेपाली र भारतीय व्यवसायीहरूबीच व्यावसायिक सहकार्य गर्ने बलियो सेतु बन्ने अपेक्षा गरिएको जनाएको छ।
व्यापार, लगानी र ऊर्जा सहकार्य प्राथमिकतामा
मन्त्रालयले भारत नेपालका लागि एक ठूलो र महत्त्वपूर्ण साझेदार राष्ट्र भएको उल्लेख गर्दै भ्रमणका क्रममा आर्थिक सहकार्य अभिवृद्धिमा विशेष जोड दिइने बताएको छ ।
मङ्सिर ७ गते प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हुने प्रतिनिधिमण्डल स्तरीय वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार लगायतका क्षेत्रहरूमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा व्यापक छलफल हुनेछ।
त्यसैगरी, भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्य सम्बन्धी विभिन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम समेत तय भएको मन्त्रालयले जानकारी दिएको छ । यस भ्रमणबाट नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस उपलब्धि र आर्थिक लाभ प्राप्त हुने विश्वास लिइएको छ ।
