सुदूरपश्चिमका सन्दर्भमा प्रधानमन्त्री वालेनको भारत भ्रमण 

प्रधानमन्त्री वालेन्द्र शाहबाट भएको छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमण सुदूरपश्चिमका सन्दर्भमा समेत महत्वपूर्ण ठहरिएको पाइएको छ । अपेक्षित रुपमा सुदूरका सवालहरु सम्ंवोधन नभएपनि यहाँका केही महत्वपूर्ण परियोजनामा भने भ्रमणले सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ ।

भ्रमणमा देशकै बहुप्रतिक्षित पञ्चेश्वर परियोजना र यहाँको जनजीविकासँग जोडिएका सवालमा समेत भएका केहि सहमतिले नागरिकमा आशाको सञ्चार गरेको छ ।

बहुप्रतिक्षित पञ्चेश्वर परियोजना 

करिब छ दशकअघिदेखि चर्चामा आउँदै सेलाउँदै गरेको पञ्चेश्वर परियोजनासम्बन्धी मुद्दा तीन दशकयतादेखि नेपाल–भारतको उच्चस्तरीय बैठकका समयमा छलफल हुदै आएपनि अपेक्षित उपलब्धि प्राप्त हुन सकेको थिएन ।

यो परियोजनाको सुरुवात हुने भन्ने सुनेका स्थानीयहरु बुढा भइसके तर अझैसम्म पनि परियोजनाको काम व्यवहारिक रुपमा अझै अघि बढ्न सकेको छैन् ।

पञ्चेश्वर परियोजना बनेपछि टनकपुर ब्यारेजमा आउने कुल पानी ७२६ क्यूसेक (क्यूबिक फूट प्रतिसेकेन्ड) हुने र त्यसको आधा अर्थात् ३५८ क्यूसेक नेपालले पाउनुपर्ने हुन्छ । टनकपुरमा अहिले नै भारतले ३२६ क्यूसेक क्षमताको नहर बनाएर २४८ क्यूसेक पानी लगिरहेको छ ।

नेपाललाई भने मात्र ३८ दशमलब ३५ क्यूसेक पानी उपलब्ध गराइएको छ । महाकाली साझा र पानी आधाआधा भनिए पनि अहिलेको वितरणले त्यसको प्रत्याभूति गरेको छैन् । पञ्चेश्वर बनिसकेपछि चाहिँ नेपालले आफ्नो भागको कुल ३५८ क्यूसेक पानी पाउने ग्यारेन्टी हुनुपर्ने विषय पनि पेचिलो रुपमा उठ्ने गरेको छ ।

नेपालतर्फ टनकपुर ब्यारेजबाट आउने पानीको सिञ्चित क्षेत्र मात्र ९४ हजार हेक्टर हुने र त्यसका लागि १२८ क्यूसेक पानी नै पर्याप्त हुन्छ ।

अब बाँकी १३० क्यूसेक पानी भारतलाई नै दिने र त्यसका लागि उसले क्षतिपूर्ति दिनुपर्ने अडान नेपाली पक्षबाट राखिदै आएको छ । त्यसमा भारतीय पक्ष सकारात्मक देखिदैन् ।

यस पटक पनि प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ ।

आइतवार भारत गएका प्रधानमन्त्री सोमवार स्वदेश फर्किनुअघि जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्तावेजमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने विषयमा नेपाल र भारतबीच फेरि सहमति भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर शीघ्र टुङ्ग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउने सहमति गरेका हुन् । डीपीआरलाई अन्तिम रूप दिएलगत्तै आयोजना कार्यान्वयनको काम सुरु गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन् ।

नेपाल र भारतबीच २०५२ सालमा महाकाली सन्धि भएपछि पञ्चेश्वर आयोजनालाई संयुक्त परियोजनाका रूपमा अघि बढाउने सहमति भएको थियो ।

महाकाली नदीको पञ्चेश्वरमा बाँध निर्माण गरी ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, रुपालीगाडमा अर्को बाँध निर्माण गरेर थप २४० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।

तर, आयोजना निर्माणका लागि सहमति भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयनको चरणमा पुग्न नसक्नु दुखद छ । आयोजनाको डीपीआरमै नेपाल र भारतबीच सहमति जुट्न नसक्दा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले फेरी पञ्चेश्वर परियोजनाको काम अगाडी बढ्ने आशा भने पलाएको छ ।

सुदूर पहाडको एकमात्र मोटरेवल पुल उद्घाटन

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र समकक्षी नरेन्द्र मोदीले दार्चुलास्थित महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

यो पुल दार्चुला महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी बनाइएको छ । स्थानीय स्तरमा यो पुललाई सजाएर राखिएको छ ।

यस मोटरेबल पुलले दुवै देशलाई जोड्ने छ । त्यससँगै दुवै मुलुकले पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालनको तयारी समेत गरेका छन् । यसअघि कैलाली र कञ्चनपुरबाहेक सुदूर पहाडका जिल्लाहरुमा भारतसंग सिधा सम्पर्कका लागि कुनै मोटरेवल पुल थिएनन् ।

दार्चुला र यस आसपास पहाडी भेगलाई भारतसँग सिधा जोड्न यो संरचना महत्त्वपूर्ण हुनेछ । यो संरचनाले नेपाल र भारतको पर्यटन, अर्थतन्त्र तथा नागरिक स्तरको सम्बन्ध अझ बलियो बनाउने विश्वास दुवै देशले लिएका छन् । यसअघि झोलुङ्गे पुलमा यात्रा गर्दै आएका यहाँका स्थानीयले अब भने आफ्नो सवारीसाधन सहित नेपाल–भारत यात्रा गर्न सक्नेछन् ।

यो पुल निर्माणका सबै लागत भारत सरकारले बेहोरेको छ । तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ३ असोज २०८० मा पुल शिलान्यास गरेका थिए । यो पुल भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले ३२ करोड ९८ लाख भारुमा बनाएको हो ।

तर यता बैतडीको जुलाघाट (झुलाघाट)मा रहेको अढाइ सय वर्ष पुरानो पुलको मुद्दाले भने नेपालका प्रधानमन्त्रीको यस पटकको भ्रमणमा पनि प्रवेश पाएन् । यसअघिका प्रायः भ्रमणमा नेपाल–भारत सिमानाका जुलाघाटमा मोटरेवल पुलको विषय उठ्ने गरेको थियो । यस पटक भने उक्त विषयले प्रवेश पाएको छैन् ।

विगत दुई दशकदेखि नेपाल–भारत सिमानाका जुलाघाटमा मोटरेवल पुलका लागि विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएपनि उक्त विषयले अझै सार्थकता पाउन सकेको छैन् । जुलाघाटमा मोटरेवल पुल निर्माणका लागि नेपाल तथा भारत दुबैतर्फका स्थानीयले ३८ दिन लामो अनशनसमेत बसेका थिए । तर उक्त मुद्दा अझै ओझेलमा छ ।

दोधरा चाँदनीमा एकीकृत जाँच चौकी सिलन्यास 

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट बनबासामा नयाँ एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको शिलान्यास गरेका छन् ।

बनबासामा बन्ने नयाँ एकीकृत जाँच चौकी (आइसिपी –क्ष्ऋए) ले नेपाललाई—विशेषगरी सुदूरपश्चिम प्रदेश र समग्र पश्चिम नेपालको व्यापार, यातायात, सीमा व्यवस्थापन र स्थानीय अर्थतन्त्रमा बहुआयामिक फाइदा पुर्‍याउने विश्वास गरिएको छ । व्यापार सहजीकरण र भन्सार प्रक्रियामा छरितोपन तथा सुरक्षासम्बन्धी सेवाहरू एकै स्थानमा एकीकृत हुँदा मालबाहक सवारीसाधनको प्रक्रिया छोटो र सरल बन्ने छ ।

औपचारिक व्यापारिक प्रवेशद्वार, कृषिजन्य उत्पादन, जडीबुटी तथा स्थानीय वस्तुहरूको औपचारिक र व्यवस्थित निकासी–पैठारीका लागि भरपर्दो पूर्वाधार तयार हुन्छ ।

सुदूरपश्चिमको आर्थिक गतिविधिमा वृद्धि, स्थानीय बजार र उद्यमशीलता ् कञ्चनपुर, बैतडी, डडेल्‌धुरा, दार्चुलालगायत सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रको आपूर्ति शृङ्खला बलियो बन्दा स्थानीय व्यापार, गोदाम, ढुवानी र सेवा क्षेत्रमा गतिशीलता आउने विश्वस यसले गरेको छ ।

सारमा प्रधानमन्त्रीको यस पटकको भारत भ्रमण सुदूरपश्चिमका लागि सामान्य रहेको मान्न सकिन्छ । सम्भावना थुप्रै रहँदारहँदै पनि त्यसअनुरुपका उपलब्धि प्राप्त भए भनेर मान्न सकिने अवस्था छैन । तर असन्तुष्ट भइहाल्नुपर्ने अवस्था पनि छैन । बनवासको आइसिपिको अवधारणा पूर्णतः कार्यान्पयनेमा आउने हो भने निश्चय पनि यसबाट समगै प्रदेशलाई केही लाभ पुग्ने आशा गर्नाु अनुचित हुने छैन ।

त्यस्तै वर्षौैदेखि हलो अडकिएजस्तो अवस्थामा रहेको पञ्चेश्वर परियोजनालाई पनि सम्बोधनको प्रयास हुनु निश्चय पनि महत्वपूर्ण छ । तर विगतमा यो परियोजना किन अगाडी बढन सकेन भन्ने चित्तबुझ्‌दो जवाफ नपाइएको अवस्थामा यो परियोजना जुलाघाटको पूलजस्तै हल्लिइरहने झुलामा परिणत नहोला भन्ने कुराको प्रत्नयाभूति कसरी गर्ने ? कम्तिमा नेपाली नीतिनिर्माताले यस प्रश्नको चित्तबुझदो उत्तर दिएर सुदूरपश्चिम प्रदशवासीलाई आश्वस्त गर्नु जरुरी छ ।

(सुदूरपश्चिमका अग्रज पत्रकार लेखक वडु समसामयिक विषयका विश्लेषणात्मक टिप्पणीकर्ताका रुपमा चर्चित छन् ।)