लाखे नाचबारे धेरै किंवदन्तीहरू छन् । तर एक कथाअनुसार, नेपालीहरू प्राचीनकालदेखि नै खेतीपाती गर्ने भएपनि केवल मानवीय श्रम पर्याप्त नहुँदा नजिकैका जंगलमा बस्ने राक्षसको बल प्रयोग गर्ने परम्परा सुरु भएको थियो ।
राक्षसलाई कामको बदलामा मासु र अण्डा दिने गरिन्थ्यो, नेवारी भाषामा मासुलाई ‘ला’ र अण्डालाई ‘खे’ भनिने भएकाले त्यस राक्षसलाई ‘लाखे’ भनिएको भन्ने पनि कथाहरुमा सुन्न पाइन्छ ।
किसानीमा प्रयोग भएपनि राक्षसले मानिसलाई हानी नगरेपछि उसलाई समाजमा समावेश गरियो र समयसँगै संरक्षकका रूपमा पूजा गर्न थालिएको हुनाले लाखेलाई आजको दिनसम्म पनि पूज्ने गरेको अध्येता ध्रुव बजिमय बताउँछन् ।
‘लाखे नाचको बारेमा धेरै कथाहरु सुनेका छौं । तर त्यो मध्य मैंले सुनेको सबैभन्दा नजिकको कथा भनेको नेपालीहरु पहिलादेखि नै खेती किसानी गर्ने मान्छेहरु हुन, तर खेतीको लागि मानवीय शक्तिले मात्र नपुग्ने भएको हुनाले नजिकैको जंगलमा बस्ने गरेको राक्षसको बल प्रयोग गर्नसके खेतीमा सहज हुन्छ भन्ने अनुमान गरेर राक्षसलाई मानव समुदायमा समावेश गरिएको पाइन्छ । किसानीको लागि राक्षसको प्रयोग बढ्न थालेपछि र उसले मानिसलाई कुनै नोक्सानी नहुने देखिएपछि उसलाई मानवको हरेक विषयमा समावेश गराएको र उसले मानवको रक्षा पनि गरेको हिसाबले पछि हुदैँ जाँदा पुज्दै पनि गएको मानिन्छ ।’
यस्तै, उनका अनुसार लाखे नाचलाई नेवार समुदायसँग जोड्ने गरिन्छ तर लाखे केवल नेवार समुदायको मात्र नभई सम्पूर्ण समुदायको साझा सांस्कृतिक सम्पत्ति हो । पहिले दशौं वर्षसम्म लाखे जात्रा नेवार मात्र नभइ गाउँका सबै जातजातीको सहभागितामा मनाइन्थ्यो । तर पछिल्ला वर्षहरूमा ग्रामीण जनशक्तिको कमी र सहरतर्फको विस्थापनका कारण यो परम्परा नेवार समुदायमा मात्र सीमित हुन थालेको हो ।
दिक्तेल समाजका संरक्षक समेत रहेका उनले नाचको क्रममा बजाइने धिमे र अन्य बाजाहरु क्षेत्र अनुसार फरक भए पनि यसको मुख्य सन्देश भनेको लाखेलाई मानव समुदायको संरक्षकको रुपमा प्रस्तुत गर्नु नै भएको बताए ।
उनका अनुसार परापूर्वकालमा राक्षसका रूपमा चिनिएको यो पात्र, पछि खेती र गाउँको सुरक्षामा योगदान दिएपछि देवताका रूपमा स्थापित भएको हो । तर, संरक्षणको पक्ष भने चिन्ताजनक छ ।
सरकारी तथा स्थानीय निकायले यसको संरक्षणमा ठोस योजना नल्याए, बजेटको व्यवस्था नगरे र सांस्कृतिक चासो नदिए परम्परा लोप हुने अवस्थामा पुगेको छ । अहिले लाखे नाचको जिम्मेवारी व्यक्तिगत प्रयास र साना संस्थामात्रको भरमा टिकेको छ ।
उनले भने, ‘यसमा सरकारी निकायले ध्यान पुर्याएको देखिदैन । सरकारी निकाय, स्थानीय निकायले तुरुन्तै वा ढिला नगरिकन यसको संरक्षणको लागि कुनै योजना नबनाउने र बजेटको व्यवस्था नगर्ने वा कला संस्कृति सम्बन्धी चासो नदिने हो भने यो लोप हुने स्थितिमा गइसकेको छ ।
अहिले व्यक्तिगत रुप र सानो संस्थाले मात्र धानीरहेको देखिन्छ ।’
आधुनिकताप्रति समाजको आकर्षण बढेसँगै खेतीपाती घटेको छ । तर खेती र लाखेबीचको ऐतिहासिक सम्बन्धलाई सम्झँदै यो सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छ । अन्यथा, पूर्खाले राक्षसबाट संरक्षक बनेको पात्र लाखे भविष्यका पुस्ताले केवल किताब र कथा–किस्सामै सुन्ने अवस्था आउन सक्छ ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            