युद्द रोक्न युक्रेनले २७,००० वर्ग किलोमिटर जग्गा रसियालाई दिनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच आज ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता हुँदैछ। यो भेटवार्ता पूर्वी समयअनुसार दिउँसो १:१५ बजे (नेपाली समय राति ११:०० बजे) सुरु हुने कार्यक्रम छ, जसपछि युरोपेली नेताहरूसँग बहुपक्षीय बैठक पनि हुनेछ। यो बैठकले युक्रेन-रसिया युद्धलाई अन्त्य गर्ने ट्रम्पको प्रयासलाई थप बल दिने अपेक्षा गरिएको छ।

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन् कि जेलेन्स्कीले चाहेको खण्डमा युक्रेन-रसिया युद्ध ‘लगभग तुरुन्तै’ अन्त्य गर्न सक्छन्। उनले युक्रेनलाई नेटोमा प्रवेश नगर्ने र क्रिमिया छोड्ने शर्त राखेका छन्, जुन रसियाको मुख्य मागसँग मिल्दोजुल्दो छ। ट्रम्पले भनेका छन्, “रसिया एक ठूलो शक्ति हो, र युक्रेनले सम्झौता गर्नुपर्छ।”

अन्तर्राष्ट्रिय रूपमा क्रिमिया युक्रेनको भाग मानिन्छ, जसलाई संयुक्त राष्ट्रसंघ र अधिकांश देशहरूले युक्रेनकै क्षेत्र ठहर्याएका छन्। तर, रसियाले सन् २०१४ मा यसलाई अवैध रूपमा कब्जा गरेको छ र हाल यसलाई आफ्नो भाग ठानेको छ। युरोपेली संघ र अमेरिकाले क्रिमियालाई युक्रेनकै भाग भनेर मान्यता दिएका छन्, तर रसियाको नियन्त्रणमा रहेको छ। ट्रम्पको प्रस्तावमा यसलाई रसियालाई सुम्पने कुरा छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ।

युक्रेन-रसिया युद्धको केन्द्रबिन्दु क्रिमिया बनेको छ। क्रिमियाको कुल क्षेत्रफल लगभग २७,००० वर्ग किलोमिटर रहेको छ, जुन कालो सागरको उत्तरी तटमा अवस्थित छ। यो क्षेत्र युक्रेनको भाग मानिन्छ तर रसियाले सन् २०१४ देखि नियन्त्रणमा राखेको छ। नेपालको भूभागसँग तुलना गर्दा क्रिमियाको आकार नेपालको कोशी प्रदेशभन्दा पनि ठूलो छ। कोशी प्रदेशको क्षेत्रफल २५,९०५ वर्ग किलोमिटर रहेको छ।

ट्रम्पले दाबी गरेका छन् कि उनको नेतृत्वमा युद्ध छिट्टै अन्त्य हुन सक्छ, तर हालसम्म पुटिनसँगको बैठकबाट कुनै सम्झौता भएको छैन। विश्लेषकहरूका अनुसार यदि युक्रेनले ट्रम्पका शर्तहरू मानेमा युद्ध अन्त्य हुन सक्छ, तर रसियाको निरन्तर आक्रमण र युक्रेनको प्रतिरोधलाई हेर्दा यो अनिश्चित छ। ट्रम्पले जेलेन्स्कीलाई दबाब दिइरहेका छन्, तर युरोपेली नेताहरूले युक्रेनलाई समर्थन गर्ने बताएका छन्।