नेपालका वाणिज्य बैंकहरूको कुल सम्पत्ति निरन्तर वृद्धि भइरहेको छ। गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार, पछिल्लो एक वर्षमा बैंकहरूको सम्पत्ति ८ खर्ब ७९ अर्ब रुपैयाँले बढेर कुल ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो १२.७४ प्रतिशतले वृद्धि भएको हो।
संचालनमा रहेका सबै बैंकको सम्पत्ति बढेको छ, एनआइसी एशिया बाहेक। सम्पत्तिको आधारमा सबैभन्दा धनी ग्लोबल आइएमई बैंक हो, जसको सम्पत्ति एक वर्षमा १४.१० प्रतिशत बढेर ६ खर्ब ८९ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ पुगेको छ। दोस्रो ठुलो बैंक नबिल बैंक हो, जसको सम्पत्ति १४.५७ प्रतिशत बढेर ६ खर्ब ८१ अर्ब ५५ करोड ५७ लाख पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति पनि १४.९४ प्रतिशत बढेर ५ खर्ब ८५ अर्ब २५ करोड ७३ लाख कायम भएको छ।
चौथो ठुलो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो, जसको सम्पत्ति १५.०८ प्रतिशत बढेर ५ खर्ब ६५ अर्ब ६६ करोड ३३ लाख पुगेको छ। यसरी सम्पत्तिका आधारमा धनी बैंकहरूको शीर्ष सूचीमा ग्लोबल, नबिल, एनआइएमबि र राष्ट्रिय वाणिज्य बैंक पर्छन्, जसको सम्पत्ति ५ खर्बभन्दा माथि छ।
सम्पत्तिको गणनामा नगद, नेपाल राष्ट्र बैंकमा मौज्दात, अन्य बैंक तथा वित्तीय संस्थामा मौज्दात, कर्जा र अग्रिम रकम, सुरक्षणपत्रमा लगानी, चालू करसम्बन्धी सम्पत्ति, भौतिक सम्पत्ति, उपकरण, अमूर्त सम्पत्ति र स्थगित करसम्बन्धी सम्पत्ति लगायत विभिन्न प्रकारका सम्पत्ति समावेश छन्।
पाँचौं स्थानमा लक्ष्मी सनराइज बैंकको सम्पत्ति ४ खर्ब ४३ अर्ब ७० करोड, छैटौंमा कुमारी बैंकको ४ खर्ब ४२ अर्ब ४९ करोड ६६ लाख, सातौंमा प्रभू बैंकको ४ खर्ब १० अर्ब ६७ करोड रहेको छ। अन्य बैंकहरूको स्थिति यसप्रकार छ: नेपाल बैंक ३ खर्ब ९९ अर्ब, एनआइसी एशिया ३ खर्ब ७८ अर्ब, हिमालयन ३ खर्ब ७२ अर्ब, एभरेष्ट ३ खर्ब ६५ अर्ब, कृषि विकास ३ खर्ब ६२ अर्ब, एनएमबि ३ खर्ब ५२ अर्ब, सिद्धार्थ ३ खर्ब ३८ अर्ब, प्राइम ३ खर्ब १७ अर्ब, सानिमा २ खर्ब ६३ अर्ब, सिटिजन्स २ खर्ब ४५ अर्ब, नेपाल एसबिआई २ खर्ब ३२ अर्ब, माछापुच्छ्रे २ खर्ब १७ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड १ खर्ब ५५ अर्ब रुपैयाँ।