संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी रहेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै उनले प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको आरोप लगाए ।

यसबाट संघीयताको विरोधी अरू कोही नभएर संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै रहेको पुष्टि भएको उनले जिकिर गरे । ‘संघीयता कार्यान्वयनमा मेन्टालिटीको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका संघले हाल्ने के हो त त्यो ? त्यो मेन्टालिटी त हो’ पूर्वअर्थमन्त्री समेत रहेका शर्माले भने, ‘तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन । त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ ।’