काकडभिट्टा मार्फत कृषिजन्य वस्तु निर्यात १.३२ अर्ब, आयात १.६९ अर्ब

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा काकडभिट्टा भन्सार नाकाबाट कृषिजन्य वस्तु निर्यात १ अर्ब ३२ करोड रुपैयाँको भएको छ।

काकडभिट्टास्थित वनस्पति क्वारेन्टाइन तथा पेस्टीसाइड व्यवस्थापन केन्द्रका अनुसार मुख्य निर्यात वस्तुहरूमा कालो इलाइची, चिया, प्लाइ, अदुवा, झाडु घाँस लगायतका वस्तु समावेश छन्।

केन्द्रका सूचना अधिकृत सन्तोष थापाका अनुसार सबैभन्दा बढी आम्दानी चियाबाट भएको छ। साउन महिनामा चियाको निर्यातबाट ३८ करोड रुपैयाँ, कालो इलाइचीबाट ३२ करोड ४० लाख रुपैयाँ र प्लाइवुड तथा भिनियरबाट २६ करोड ८० लाख रुपैयाँको आम्दानी भएको छ।

त्यसैगरी, सोही अवधिमा काकडभिट्टा भन्सार नाकाबाट कृषिजन्य वस्तु आयात १ अर्ब ६९ करोड रुपैयाँ बराबरको भएको छ। आयातमा बाजरा, दाल, धान, ताजा तरकारी, फलफूल, लसुन, आलु, मकै तथा पशुहरूको चारा प्रमुख रहेका छन्।

सूचना अधिकृत थापाले भने, “निर्यात र आयात दुबै बढ्दै गएको देखिन्छ, जसले भन्सार नाकाको भूमिका र कृषिजन्य वस्तुको व्यापारमा नेपालको बढ्दो सहभागिता प्रस्ट पार्छ।”