पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी नेतृत्वको सल्लाहबमोजिम नै सदस्यता नवीकरण गरेको र अहिले आएर तिनैले घोचपेच गर्न थालेको भन्दै विधान महाधिवेशनका प्रतिनिधिहरुसँग साथ माग्नुभएको छ ।
उहाँले पत्रमा पहिला सदस्यता नवीकरण गर्न सल्लाह दिने जिम्मेवार नेताहरुले पूर्वधारणा परिवर्तन गरेकोमा उनले आश्चर्य पनि प्रकट गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘राष्ट्रपतिको जिम्मेवारीबाट सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाह बमोजिम नै मैले पार्टी सदस्यता नवीकरण गरेको हुँ। तर केही समययता पार्टीका केही जिम्मेवार कमरेडहरूले अनेकौं व्यंग्य, घोचपेच र मर्यादाविपरीत अभिव्यक्ति दिँदै खासगरी मेरो पार्टी सदस्यता नवीकरण नभएको भनी सार्वजनिक सञ्चार माध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्यौल र जनतामा भ्रम सिर्जना भएको छ। ती कमरेडहरूको पूर्ववत धारणामा किन परिवर्तन भएको हो, मलाई आश्चर्य लागेको छ।’
उहाँले पार्टी नेतृत्वको यस्तो व्यवहार जबजले सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग मेल नखाने भनी टिप्पणी गर्नुभएको छ ।
पार्टीको विधिभित्रै रहेर आफूले सदस्यता नवीकरण गरेको दाबी गर्दै उहाले अगाडि लेखेकी छन्, ‘एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ। पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो। अझसम्म पनि हाम्रा अभिभारा र लक्ष्य हासिल भइसकेका छैनन्। त्यसको प्राप्तिका लागि हामी सबैको एकता, समझदारी र सक्रियताको आवश्यकता पर्दछ। तसर्थ, यो आग्रहप्रति सबै सदस्यहरू गम्भीर बन्दै मेरो सदस्यता कायम गर्ने बारेमा सकारात्मक धारणा र निर्णयको अपेक्षा गर्दछु साथै पार्टीले आफ्नो निर्णय सच्याउँदै पार्टीमा देश र जनताको हितका खातिर एकजुट भएर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गर्दछु।’
एमालेले आफ्नो सदस्यता नवीकरण रोकेर पार्टी राजनीतिक सक्रिय हुन अवरोध गरेपछि भण्डारीले समानान्तर गतिविधि गर्दै आइरहनुभएको छ। भण्डारीको पार्टी सदस्यता नवीकरण नरोक्न माग गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहीबार सचिवालयको बैठकमा फरक मत राखेका छन् भने केन्द्रीय सदस्य कर्ण थापाले महाधिवेशनमा छुट्टै दस्तावेज प्रस्तुत गर्दैछन्, जसमा पोखरेलसहित तीन जना उपाध्यक्षहरूको समर्थन रहेको छ।
महाधिवेशन हलमा फरक मतसहित आवाज उठाउने तयारीबीच भण्डारी आफैले एमालेका २३४१ महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै भावुक पत्र लेख्नुभएको हो ।