धारा ६१बाट विराटनगरले पायो छैटौं प्रधानमन्त्री

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

औद्योगिक राजधानी भनेर चिनिने विराटनगर प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल र राजनीतिक नेतृत्व जन्माउने सहरको रूपमा पनि परिचित थियो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि अब विराटनगरले थप परिचय बनाएको छ, छैटौँ प्रधानमन्त्री र पहिलो महिला कार्यकारीको रूपमा । यसअघि ५ जना प्रधानमन्त्री उदाएको विराटनगरमा अब सूचीमा कार्कीको नाम थपिएको हो ।

जो नेपालको कार्यकारी ओहदामा पुग्ने पहिलो महिला बनेकी छन् । कार्की यसअघि नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् । अब उनले पहिलो महिला प्रधानमन्त्रीको रूपमा अर्को कीर्तिमान थप्न सफल भइन् । विराटनगर हरेक परिवर्तनमा राजनीतिक आन्दोलन, विचारको नेतृत्व गरी देशको दिशा निर्धारण गर्दै आएको छ । विराटनगरको परिचय थप फराकिलो बनेको छ, ‘प्रधानमन्त्री जन्माउने शहर’ को रूपमा ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सुशीला कार्की प्रथम महिला प्रधानमन्त्रीमा नियुक्त

२००७ सालमा विराटनगरमा जन्मिएकी कार्कीले स्थानीय महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट बीए पास गरेर भारतको बनारसस्थित हिन्दु विश्व विद्यालयबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर गरिन् । वनारसबट फर्किएपछि उनले त्रिभुवन विश्वविद्यालबाट कानुनमा स्नातक गरिन् ।

वकालतबाट सुरु भएको उनको यात्रा प्रधानन्यायाधीशसम्म पुग्यो । सेवा निवृत्तपछि उनको यात्रा रोकिएन पहिलो महिला प्रधानमन्त्रीको रूपमा बढेको छ ।

२०७३ असार २७ मा नेपालकै पहिलो महिला प्रधान न्यायाधीश बनेकी उनले ११ महिनामै ऐतिहासिक मुद्दाहरूमा फैसला गरेकी थिइन् । उनी न्यायाधीश भएका बखत तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने फैसला गरेकी थिइन् । तत्कालीन सूचना तथा सञ्चार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला पनि उनैले गरेकी थिइन् ।

यस्ता धेरै ऐतिहासिक कदमहरूले उनलाई निडर न्यायाधीशको रूपमा स्थापित गरेको थियो । खासगरी भ्रष्टाचारविरुद्ध निरन्तर संलग्न रहेकी उनी आज देशकै प्रथम महिला कार्यकारी पदमा पुगेकी छिन् । कार्यकारी नेतृत्व सम्हालेसँगै उनले न्याय प्रणालीमा देखाएको इमानदारी, भ्रष्टाचारविरुद्धको साहस र राष्ट्रप्रतिको समर्पणलाई नयाँ कीर्तिमानमा रूपान्तरित गर्दै, इतिहासमै स्थायी छाप छाड्ने अवसर पाएकी छिन् ।

बीपी कोइराला – नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री, दोश्रो मातृका प्रसाद कोइराला – कांग्रेसका प्रभावशाली नेता, गिरिजा प्रसाद कोइराला – बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चारपटक प्रधानमन्त्री, मनमोहन अधिकारी – पहिलो कम्युनिस्ट प्रधानमन्त्री, नगेन्द्र रिजाल – पञ्चायतकालीन प्रधानमन्त्री, सुशीला कार्की – विराटनगरकी छैटौं एंव पहिलो महिला प्रधानमन्त्री हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ प्रयोग गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्।
राष्ट्रलाई संकटबाट निकास दिने उद्देश्यले संविधानको पालक, संरक्षक र राष्ट्रिय एकता प्रवर्धकका रूपमा राष्ट्रपतिले भूमिका खेल्नुपर्ने संविधानको धारा ६१ मा उल्लेख छ।

धारा ६१ को उपधारा ४ मा लेखिएको छ, ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ।’

‘राष्ट्रको अभिभावक कहिल्यै पनि विकल्पविहीन हुँदैन,’ संविधानविद्हरूरुले राष्ट्रपतिसमक्ष भनेका थिए, ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी निर्णय लिन सक्छ। संविधानमा नलेखिए पनि इमर्जेन्सी लाइट बाल्ने अधिकार राष्ट्रपतिको पदसँगै अन्तर्निहित भएर आउँछ।’

त्यही कर्तव्यभित्र रहेर राष्ट्रपतिले निर्णय लिएको शीतलनिवासका अधिकारीहरूले बताए।

 

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार