न्युरालिङ्कका कार्यकारी शिवोन जिलिसले इलोन मस्कसँग आफ्नो ब्रेकअप भएको पुष्टि गरेकी छन्।
उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै एक हप्ताभित्रै कुरा प्रेमदेखि बिछोडसम्म पुगेको बताएकी हुन्। यस विषयमा आफूलाई कुनै पूर्वचेतावनी नआएको पनि उनले उल्लेख गरेकी छन्।
जिलिसले भनेकी छन्,’म यो बिछोडबाट दु:खी छु, तर म अझै पनि मस्कको गहिरो ख्याल राख्छु। म उनलाई सधैँभरि खुसी राख्न चाहन्छु। मलाई आशा छ- हामी असल साथी रहनेछौँ र हाम्रा बच्चाहरूलाई सँगै हुर्काउनेछौँ।’
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मस्कले उनलाई एक्समा अनफलो गरेको देखेपछि शिवोन जिलिसको अभिव्यक्ति आएको हो।
जिलिसले मस्कको कम्पनी न्युरालिंकको व्यवस्थापन गर्छिन्।
मस्क १४ सन्तानका पिता हुन् भने यीमध्ये जिलिसले २०२१ देखि २०२५ सम्म तीनपटक आमा बनिन्।
शिवोन जिलिस र इलोन मस्कका चार सन्तान छन्। यसमा जुम्ल्याहा सन्तान स्ट्राइडर र एजुरे तथा छोरी आर्केडिया र छोरा सेल्डन लाइकर्गस छन्।
दुईपटक बिहे, धेरैवटा प्रेमिका
इलोन मस्कले दुई पटक विवाह गरिसकेका छन्। उनका श्रीमतीहरू जस्टिन विल्सन र तल्लुलाह रिले थिए।
यस्तै उनले एम्बर हर्ड, ग्रिम्स र शिवोन गिलिजसँग प्रेम गरेका थिए।
पहिलो पत्नी जस्टिन विल्सनबाट मस्कका ६ सन्तान छन्। मस्क र जस्टिन विल्सनबिच २००८ मा सम्बन्धविच्छेद भएको थियो।
यसपछि मस्कले ब्रिटिस अभिनेत्री तल्लुलाह रिलेसँग २०१० मा विवाह गरे तर २०१२ मा सम्बन्ध विच्छेद भयो। यद्यपि उनीहरूले २०१३ मा पुनर्विवाह गरे। फेरि २०१६ मा सम्बन्ध विच्छेद गरे। तल्लुलाहबाट भने कुनै सन्तान छैन।
इलोन मस्क र गायिका ग्रिम्सले सरोगेसीमार्फत छोरी जन्माए। सन् २०२२ मा उनीहरू अलग भए।
