साफ यु १७ च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले सोमबार घरेलु टोली श्रीलंकालाई २० ले हरायो।
नेपालको जितमा दुबै गोल समिर कुमारले गरे। यो जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ।
नेपालले सुरूवात देखि नै दबाब बनायो। पहिलो हाफमा नेपालले गोल गर्ने मौका पनि पायो। तर सदुपयोग गर्न सकेन। समिरले दुई पटक राम्रो मौका चुकाए।
कप्तान इशाक मउफरले पनि पाएको मौका सदुपयोग गर्न सकेनन्। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
खेलको ५२ औं मिनेटमा नेपालले अग्रता बनायो। प्रतिश थापा मगरको क्रसमा समिरको हेडरले सहि दिशा लियो। नेपालले खेलमा १-० को अग्रता बनायो।
श्रीलंका खेलमा फर्कन सकेन। नेपालले खेलको अन्तिम मिनेटमा अग्रता दुगुना बनायो। समिरले बक्सभित्रबाट गोल गरे। यो सँगै नेपालले २-० को जितकासाथ महत्वपूर्ण ३ अंक जोडेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता छ।
नेपाल, श्रीलंका र बंगलादेश समूह ‘ए’ मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।
यसअघिको ९ संस्करणमा भारतले ६, बंगलादेशले २ र पाकिस्तानले एक पटक उपाधि जितेको छ। सन् २०११ बाट सुरु भएको च्याम्पियन्स कहिले यु १५ र कहिले यु १६ का रुपमा पनि आयोजना भएको छ। योसहित ३ संस्करण लगातार यु १७ को नाममा आयोजना भएको छ।
गत वर्ष बंगलादेशलाई २-० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो। यसपटक असोज ११ (सेप्टेम्बर २७) सम्म चल्ने प्रतियोगिताको सबै खेल कोलम्बोको रेसकोर्स ग्राउण्डमा हुनेछ । ४ पटक फाइनल खेलेको नेपालले अहिले सम्म उपाधि जित्न सकेको छैन।