सेनाका दुई हेलिकोप्टर बेपत्ता हुँदा एक अर्ब रुपैयाँ सखाफ

नेपाली सेनाका दुई वटा हेलिकोप्टर एनए–०५३ र एनए–०५६ दुई वर्षदेखि बेपत्ता छन् । ती हेलिकोप्टर कुन अवस्थामा राखिएको छ भन्नेबारे सेनाले आधिकारिक रुपमा जनाएको छैन ।

मर्मत सम्भारका लागि भारतको मुम्बई पुर्याइएका ती हेलिकोप्टरको मर्मतवापत एक अर्ब रुपैयाँ भुक्तानी गरिसकिएको छ । सूत्रका अनुसार सेनाले उक्त रकम मागाजोन डक सिपबिल्डर्स लिमिटेडलाई प्रदान गरेको हो । कम्पनीको स्थानीय एजेन्ट प्रशान्त राणा हुन् । राणा कांग्रेस नेतृ आरजू राणा देउवाका भाइ नाता पर्छन् ।

विना प्रतिस्पर्धा हेलिकोप्टर मर्मत जस्तो संवेदनशील काममा प्रतिस्पर्धा नगराई सोझै भुक्तानी गरिएको र मर्मत क्षमता नभएको कम्पनीलाई जिम्मा दिइएकोबारे सेनाभित्रै असन्तुष्टि चुलिएको बताइन्छ ।

ती हेलिकोप्टर विशेषगरी प्राकृतिक प्रकोपमा उद्धार तथा आकस्मिक सेवाका लागि अत्यन्तै जरुरी हुने थिए । तर दुई वर्षसम्म बेपत्ता रहँदा आवश्यकताका बेला उद्धारमा हेलिकोप्टर अभाव देखिएको छ । मर्मतमा भएको लापरबाहीमा आरजू, प्रशान्त र स्वयम् नेपाली सेनाका यसअघिका प्रमुखहरुको समेत आलोचना हुँदै आएको छ ।

 

 

जनआस्थाबाट साभार