भारी वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि भैरहवामा अलपत्र परेका यात्रुहरुलाई आज चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइँदैछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज दिउँसो करिब पौने ३ बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत यात्रुहरुलाई काठमाडौं पठाइने तयारी पूरा भएको छ।
अलपत्र परेका मध्ये बिरामी, अध्ययनका लागि विदेश जान तयारी गरेका विद्यार्थी, रोजगारीका लागि विदेश गइरहेका श्रमिक तथा पर्यटकहरुलाई प्राथमिकता दिइने विमानस्थलले जनाएको छ।
यी यात्रुहरुलाई आइतबार नै काठमाडौं ल्याउने तयारी गरिएको थियो, तर आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी नपुगेका कारण उडान स्थगित गरिएको थियो। हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आग्रहमा निगमले १५८ सिट क्षमताको विमानमार्फत यात्रुहरुलाई आइतबार राति ८ बजे पठाउने योजना बनाएको भए पनि कार्यान्वयन हुन नसकेको थियो।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            