क्षतिग्रस्त व्यावसायिक भवनको विदेशी सर्भेयरबाट, सर्भेको माग

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

गत भदौ २३ र २४ गतेको आन्दोलनमा क्षतिग्रस्त व्यावसायिक भवन तथा भौतिक क्षतिको विवरण निकाल्न विदेशबाट विज्ञ बोलाइने भएको छ।

बिमा कम्पनीहरूले क्षतिग्रस्त भएका संरचनाहरूको अवस्था अध्ययन गर्न विषयविज्ञ सर्भेयरहरू बोलाउने भएका हुन्।

नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म लघुसहितका १८ बिमा कम्पनीले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिउपर २३ अर्ब २२ करोडबराबरको दाबी संकलन गरेका छन्।

सामान्य अवस्थामा बिमा कम्पनीहरूले उपलब्ध स्थानीय सर्भेयरबाटै क्षतिको अवस्था र तथ्यांक संकलन गर्छन् तर क्षतिको अवस्था ठूलो र थप क्षति हुने आशंका देखिएमा भने विज्ञ सर्भेयरबाट सर्भे गराउने गर्छन्।

गत भदौमा भएको प्रदर्शनका कारण ठूला व्यावसायिक भवन भाटभटेनी, सेन्ट्रल बिजनेस पार्क, हिल्टन होटललगायतका संस्थाहरूमा ठूलो क्षति भएको छ। यसबारे स्थानीय सर्भेयरबाट नभएर विज्ञबाटै सर्भे गर्नुपर्ने देखिएका कारण उनीहरुले विदेशबाट विज्ञ झिकाउन लागेका हुन्।

प्राधिकरणका अनुसार हालसम्म विदेशी विज्ञ सर्भेर ल्याउन स्वीकृति माग गर्दै दुईवटा आवेदन परेका छन्।

बिमा प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखा उपनिर्देशक सविता थापाले २ वटा आवेदन परेको जानकारी दिइन्।

उनका अनुसार प्राधिकरणले स्वीकृति दिएपछि मात्रै बिमा कम्पनीहरूले उनीहरूलाई बोलाएर क्षतिको अनुसन्धान अगाडि बढाउनेछन्।

प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले नेपालमा हाल बिमा कम्पनीहरूसँग १६ सयभन्दा धेरै स्थानीय सर्भेयरहरू उपलब्ध रहेको बताए। जसमध्ये ५ सय सक्रिय सर्भेयरहरू छन्।

सामान्य सर्भेका लागि जनशक्ति पर्याप्त रहे पनि विषयविज्ञता भएका सर्भेयरहरू नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको सुवेदीले जानकारी दिए। उनका अनुसार ज्वाइन्ट सर्भे गर्नुपरेको खण्डमा भने बिमा कम्पनीहरूले स्थानीय सर्भेयर र विदेशबाट ल्याइएको विज्ञ सर्भेयरद्वारा संयुक्त रुपमा सर्भे प्रतिवेदन तयार पार्छन्।

‘ज्वाइन्ट सर्भेका लागि भने प्राधिकरणले स्वीकृति दिए पनि बिमा कम्पनीहरूले ल्याउने हुन्, स्पेसिफिक भएर सर्भे गर्नुपरेमा बाहिरबाट सर्भेयर ल्याइन्छ’, उनले भने।

बिमितको वर्तमानको क्षति भविष्यमा हुन सक्ने क्षतिसमेत आकलन गर्न त्यस्ता विज्ञ सर्भेयरहरू ल्याउनुपरेको उनले बताए।

भवनमा कसरी क्षति पुर्‍याइएको छ, कस्ता वस्तुहरू प्रयोग गरियो भन्ने सूक्ष्म अध्ययनका लागि पनि स्पेसिफिक सर्भेयर आवश्यकता पर्ने सानिमा रिलायन्स इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल बताउँछन्।

‘हिल्टन, भाटभटेनीजस्ता थुप्रै ठूला भौतिक संरचनाहरूमा क्षति पुगेको छ, यस्ता संरचनाहरूमा सिलिन्डरहरू पनि पड्काएर क्षति पुर्‍याएको देखिन्छ’, उनले भने, ‘सर्भेयरले यस्ता संरचनाको सर्भे प्रतिवेदन तयार पार्दा भवन पुनर्निर्माण गर्न मिल्ने÷नमिल्ने तथा थप क्षति हुनसक्ने नसक्नेबारे अध्ययन गरिन्छ।’

प्राधिकरणका अनुसार देशभर नै कुल २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमादाबी परेको छ। जसमा सम्पत्ति बिमामा सबैभन्दा धेरै दाबी परेको छ। सम्पत्ति बिमा १९ अर्ब ६ करोड ७६ लाखबराबरको दाबी परेको छ भने हालसम्म बिमा कम्पनीहरूले १ अर्ब ३२ करोड रुपैयाँ दाबी मात्रै दाबी भुक्तान गरिसकेका छन्।

 मोटर बिमा ३ अर्ब ४१ करोड ६ लाख रुपैयाँबराबरको दाबी पर्दा २४ करोड ९१ लाख भुक्तान भएपनि बाँकी हुन सकेको छैन।

योबाहेकका इन्जिनियरिङ तथा ठेकेदार बीमामा ३८ करोड ३ लाखको दाबीमा ८७ लाख भुक्तान भएको छ भने परिवहन बीमामा १ करोड ६३ लाख दाबी हालसम्म कुनै दाबी भुक्तान भएको छैन। अन्य शीर्षकमा भने ३५ करोड ३७ लाख दाबी पर्दा ५ लाख मात्रै भुक्तान भएको हो।

समग्रमा २३ अर्ब २२ करोडको दाबी परे पनि हालसम्म १ अर्ब ५८ करोडबराबरको मात्रै दाबी भुक्तान भएको छ। बिमा व्यवसायीहरूले क्षति पुगेका ठूला व्यावसायिक संस्थाहरूको भने सर्भेका लागि विदेशबाट सर्भेयर ल्याउनुपरेको कारण पनि दाबी भुक्तानीमा थप समय लाग्ने बताउँदै आएका छन्।

 

 

 

नेपालखबरबाट साभार