“हजारका नोट हराए बजारबाट: जलेका रकमपछि राष्ट्र बैंकको नयाँ छपाइ योजना”

देशभर रु. १००० दरका नोटको तीव्र अभाव देखिएको छ । ठूला नेताका घरमा भण्डारण गरिएको नगद जलेका खबरहरुसँगै बजारमा ठूलो दरका नोट झनै कमी भएको बैंकरहरुले बताएका छन् ।

पोहोर सालदेखि नै रु. १००० दरका नोट कमी हुँदै आएको भए पनि अहिले स्थिति गम्भीर बन्दै गएको बैंक क्षेत्रको भनाइ छ । यसै कारण बैंकहरूले चेक साट्ने र ठूलो रकम झिक्ने ग्राहकलाई नगद उपलब्ध गराउन कठिनाइ भोगिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले एटीएमबाट निकाल्न सकिने रकमको सीमा घटाइसकेको छ भने अब चेक साट्ने सीमा पनि हालको रु. १० लाखबाट झन् घटाउने तयारी भइरहेको छ । राष्ट्र बैंकले यस कदमलाई “डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने नीति” को रूपमा व्याख्या गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जेनजी आन्दोलनका क्रममा नेताका घरमा जलेको नगदको प्रसङ्ग जोड्दै नगद कारोबार घटाउनु पर्ने सन्देश प्राप्त भएको बताए । “मिडियामा आएका समाचारले नै देखाउँछ, नोट धेरै बाँड्न नहुने रहेछ,” पण्डितले भने, “त्यसैले हामी डिजिटल भुक्तानीतर्फ प्रोत्साहन गरिरहेका छौं।”

पण्डितका अनुसार अहिले बजारमा ‘गम्भीर अभाव’ नभए पनि दशैंको समयमा मानिसहरूले एटीएमबाट १००० का नोट निकालेर खुद्रा साटेकाले बजारमा अस्थायी कमी देखिएको हो । राष्ट्र बैंकले यस वर्ष मात्र रु. ६२ अर्ब बराबरको सुकिला नोट सटही गरेको थियो ।

नोटको कमीको अर्को कारण नोट छपाइमा भएको ढिलाइ पनि हो । राष्ट्र बैंकले हालै मात्र ४३ करोड थान नयाँ रु. १००० दरका नोट छपाइका लागि बोलपत्र आह्वान गरेको छ । नयाँ नोट अर्को वर्षको भदौतिर मात्र बजारमा आउने सम्भावना छ ।

यसअघि २०७९ सालमा भारतीय सरकारी कम्पनीलाई नोट छपाइको ठेक्का दिइए पनि गुणस्तरमा समस्या देखिएपछि राष्ट्र बैंकले सो ठेक्का रद्द गरेको थियो । सो कम्पनीले अदालतमा मुद्दा हालेपछि प्रक्रिया झन् लम्बिएको थियो । अन्ततः केपी ओली नेतृत्वको सरकारले डिजाइन परिवर्तन गरी नयाँ नोट छपाइको अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक २०७६ सालमा रु. १००० दरका नोट छपाएको थियो, जसलाई २०७७ साउन ७ गतेदेखि चलनचल्तिमा ल्याइएको थियो । ती नोट चीनको “चाइना ब्याङ्क नोट प्रिन्टिङ एण्ड माइनिङ कर्पोरेसन”ले छापेको थियो ।

सामान्यतया राष्ट्र बैंकले प्रत्येक ३ वर्षको माग धान्ने गरी नोट छपाउने गर्छ, तर यसपटक नयाँ नोट बजारमा आउन ६ वर्षभन्दा बढी समय लाग्ने निश्चित भएको छ । यसबीचमा बजारमा रु. १००० दरका नोटको कमी अझै बढ्ने बैंक अधिकारीहरूको अनुमान छ ।