नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सिंहदरबारसहित महत्त्वपूर्ण संरचना जोगाउन लागेको भए ठूलो मानवीय क्षति हुने देखिएको प्रस्टीकरण दिएको छ। सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले सेनाले आन्दोलनकारीलाई पटकपटक गेटबाट हटाएको तर आन्दोलनकारी जबर्जस्ती प्रवेश गरेका कारण सहजै रोक्न नसकिएको बताए।
‘हामीले हवाइ फायर गर्यौँ, आन्दोलनकारीलाई भित्रबाट दुईतीन पटक सम्झाइबुझाई गरेर पठायौँ। तर पछि चारैतिरबाट प्रवेश गरेपछि कि ठूलै मानवीय क्षति हुने गरेर बल प्रयोग गर्नुपथ्र्यो कि सेना पछि हट्नु पर्थ्यो,’ उपरथी थापाले भने, ‘हामीले तत्कालीन परिस्थितिलाई विश्लेषण गरेरै निर्णय गरेका हौँ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्न गएको समूहलाई भने आफूहरूले रोकेको सेनाको दाबी छ।
‘धेरैलाई थाहा नभएको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उदेश्यका साथ भेला भएका करिब २ हजार जना प्रदर्शनकारीहरूमध्ये १५ जना जर्किनमा पेट्रोलसहित आएका थिए। विभिन्न स्थानहरूबाट विमानस्थल प्रवेश गर्न खोज्ने प्रदर्शनकारीहरूबाट विमानस्थल सुरक्षित गरिएको थियो,’ युद्ध कार्य विभागका निर्देशक सहायक रथी मनोज थापाले भने, ‘विमानस्थलमा तोडफोड र अन्य गतिविधिबाट बन्द हुने अवस्था आएको भए अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश गई देशको छवि धमिलिन सक्ने सम्भावना अत्यधिक रहेको थियो।’
भदौ २५ गतेबाट विमानस्थल नियमित सञ्चालन गर्न भूमिका खेलेको र विमानस्थलमा फसेका विदेशी पर्यटकहरूलाई सुरक्षित राखिएको पनि सेनाले जानकारी दियो। उपत्यकामा रहेका विभिन्न कूटनीतिक नियोग तथा विदेशी नागरिकहरूको सुरक्षा व्यवस्था समेत सेनाले मिलाएको जनाएको छ।
यस्तै २४ राति नै पशुपतिनाथ मन्दिरको दक्षिण र पश्चिम गेटमा भेला भएका प्रदर्शनकारीलाई पनि हटाएर सेनाले मन्दिर सुरक्षित राखेको जनाएको छ।
सेनाले सिंहदरबारमा आगलागी रोक्न पटकपटक प्रयास गरेको भए पनि आन्दोलनकारी नरोकिएको र सेनाले बल प्रयोग गर्दा ठूलो मानवीय क्षति हुने देखिएको उपरथी थापाले बताए।
‘सिंहदरबारको मुख्य भवनमा आगजनी भए तापनि नेपाली सेनाको तैनाथी र पहलबाट सिंहदरबारमा रहेको रणनीतिक महत्त्वका कागजातहरूको राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको एलएमबीआईएस सहितको डाटा सेन्टर आगजनीबाट जोगाउन सफल भएको थियो,’ युद्धकार्य विभागले भनेको छ।
सिंहदरबारमा प्रदर्शनकारीहरू छिरिसकेको र अब ठूलो क्षतिबिना रोकिँदैन भन्ने देखिएपछि नेपाली सेनाले यी तीनवटा कुरालाई जोगाउन लागेको र सहायक रथी आफैँ फिल्डमा खटिएको उपरथी थापाले बताए।
सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास समेत जोगाउन नसकेको भन्दै सेनाको आलोचना भइरहेको छ। तर युद्ध कार्य विभागले यदि ती संरचना जोगाउन लागेको भए ठूलो मानवीय क्षति हुने जवाफ दिएको हो।
विभिन्न देशमा यस्ता खालका आन्दोलन भइसकेपछि नेपाली सेनाले पनि सम्बन्धित जिम्मेवार व्यक्तिहरूलाई खबर दिइसकेको दाबी गरेको छ।
‘तर घटनाको दृश्य र तीव्रता सबैको अनुमान भन्दा ठूलो र बढी भयो। घटनापछि नेपाली सेनाले जेजति कार्यहरू गर्यो, त्यो तत्कालीन अवस्थामा सबैभन्दा राम्रो विश्लेषणबाट गरिएको निर्णय हो। जहिले पनि हामीले गएको समयलाई हेर्दाखेरि कोट्याउने खोटहरू देखिन्छन् तर हामीले त्यहीबेलाको सन्दर्भमा गएर हेर्नुपर्छ,’ उपरथी थापाले भने।
२४ गते रातिबाट देशको शान्ति सुरक्षाको जिम्मा लिएको नेपाली सेनाले काठमाडौँ उपत्यकाभित्र ६ हजारभन्दा बढी फौज परिचालन गरेको थियो। उपत्यकाबाहिर विभिन्न जिल्लामा १८ हजार बढी फौज तैनाथ गरिएको थियो।
सेनाले जिम्मा लिएको ६ देखि ८ घण्टापछि सुरक्षा अवस्था सामान्य बन्दै गएको सेनाले जनाएको छ। त्यसक्रममा सेनाले आगजनी नियन्त्रण र लुटपाटमा संलग्नलाई कारबाही पनि गरेको थियो। सेनाको विवरण अनुसार देशका ४८४ स्थानहरूमा प्रदर्शन भएको थियो। त्यसक्रममा ७६ जनाको मत्यु भएको थियो। आगो नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकासहित ११ वटा दमकल प्रयोग गरेको सेनाको दाबी छ। सेनाले काठमाडौँ महानगरपालिकाको दमकल पनि समयमै उपलब्ध भएको दाबी गरेको छ।
यस्तै सेनाले उपत्यकाका ५ स्थान र उपत्यकाबाहिर ५७ वटा महत्त्वपूर्ण संरचनाको सुरक्षामा पनि खटिएको थियो। हाल स्थिति सामान्य हुँदै गए पनि २१ स्थानको सुरक्षामा सेना खटिइरहेको छ। ४१ स्थानबाट भने फिर्ता भइसकेको छ।
प्रहरीबाट लुटिएका ५८६ नाल हतियार फिर्ता
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीका ९७८ थान हतियार लुटिएको नेपाली सेनाले जनाएको छ। लुटिएकामध्ये आधाभन्दा बढी हतियार फिर्ता गरिएको दाबी पनि सेनाले गरेको छ।
‘अन्य सुरक्षा निकायका ९७८ नाल हतियार लुटिएकोमा हालसम्म ५८६ नाल हतियार फेला परेका तथा फिर्ता भएका छन्,’ युद्धकार्य विभागले भनेको छ।
उपत्यकाभित्र नेपाली सेनाले प्राप्त गरेका मध्ये २७४ नाल नेपाल प्रहरीलाई र १२ नाल सशस्त्र प्रहरीलाई बुझाइएको छ।
यस्तै उपत्यका बाहिरबाट पनि नेपाली सेनाले हतियार फिर्ता लिएको छ। उपत्यका बाहिर ७९ नाल हतियार प्रहरीलाई बुझाइसकेको छ। थप ६५ वटा हतियार पनि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सेनाले जानकारी दिएको छ।
जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लुटेका हतियार आन्दोलनकारीले नेपाली सेनालाई बुझाएका थिए। केही हतियार भने सेनाले बरामद गरेको थियो।
१५८० कार्यालय तथा घरहरूमा क्षति
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा १ हजार ५८० वटा कार्यालय तथा निजी घरहरूमा क्षति पुगेको छ। नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार आन्दोलनकारीको आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण हो। जसमा सरकारी कार्यालयतर्फ ६८८ वटामा क्षति पुगेको छ।
यस्तै ३०७ वटा प्रहरी कार्यालय पनि आन्दोलनमा ध्वस्त पारिएको छ। २५९ व्यक्तिका निवासमा पनि क्षति पुगेको छ। १२८ वटा व्यापारिक प्रतिष्ठान र १९८ वटा राजनीतिक दलका कार्यालयमा क्षति पुगेको पनि सेनाले जानकारी दिएको छ।
यीमध्ये केही घर तथा कार्यालयहरू पुनर्निर्माण समेत भइसकेका छन्। खासगरी प्रहरी कार्यालयहरू छिटो तयार गरिएका छन्। उपत्यकामा क्षति पुगेका प्रहरी कार्यालयहरू मर्मत गरेर प्रहरी सेवामा फर्किइसकेको छ।
१९० जनालाई विशेष सुरक्षा, ६१ जनाको हेलिकोप्टरबाट उद्धार
नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा १९० जना भीभीआईपी, भीआईपी र तिनका परिवारलाई सुरक्षा दिएको प्रस्ट्याएको छ। तीमध्ये ६१ जनालाई हेलिकोप्टरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको र १२९ जनालाई स्थलमार्गबाट सेनाको सुरक्षामा लगिएको बताएको छ।
नेपाली सेनाले तत्कालीन तत्कालीन प्रर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाटै आफ्नो ब्यारेकमा लगेर सुरक्षा दिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्रीहरू र तत्कालीन मन्त्री तथा शीर्ष नेताहरू र तीनका परिवारलाई पनि आफ्नो ब्यारेकमा लगेर सुरक्षा दिएको थियो।
जेनजी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा मृत्यु भएका २२ जना मात्रै जेनजी प्रदर्शनकारी भएको नेपाली सेनाले जनाएको छ।
सेनाले प्रस्तुत गरेको रिपोर्टमा मृत्यु हुने ७६ जनामध्ये २२ जना प्रदर्शनकारी, ३ जना नेपाल प्रहरी, १० जना कैदीबन्दी र ४१ जना अन्य रहेको उल्लेख गरिएको छ।
२२ जना मात्रै हुन् प्रदर्शनकारीरु भन्ने प्रश्नमा पनि नेपाली सेनाले २३ गते गोली लागेर सडकमा ढलेका र विभिन्न अस्पतालमा मृत्यु भएकामध्ये २२ जना प्रदर्शनकारी रहेको र अरु अन्य रहेको जवाफ दिएको थियो।
आन्दोलन भड्काउने टीओबी समूहबारे अध्ययनमा सेना
जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका देखिएको भनिएको टिबेटन ओरिजिनल ब्लड ९टीओबी० समूहबारे नेपाली सेनाले पनि अध्ययन गरिरहेको जनाएको छ।
‘यो समूहको बारेमा विभिन्न कुराहरू बाहिर र सञ्चारमाध्यममा आएका छन्। हामी पनि अध्ययन गरिरहेका छौँ। यहाँहरूलाई पनि त्यसबारेमा कुनै सूचना छ भने उपलब्ध गराएर सहयोग गरिदिनुहोस्,’ उपरथी थापाले भने।
२३ गतेको आन्दोलनमा मोटरसाइकलमा निस्किएको यो समूहले नै शान्तिपूर्ण रूपमा चलिरहेको जेनजी आन्दोलन भड्काएको आरोप छ। मोटरसाइकको चर्को आवाज निकाले भीडलाई उक्साएको भिडिओहरू सार्वजनिक भएका छन्।
यस्तै समूहकै एक सदस्यले हतियार पनि प्रदर्शन गरेको देखिएपछि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सेनाले पनि यो समूहबारे बुझ्ने काम भइरहेको बताएको हो।
