भारतीय कांग्रेस नेता राहुल गान्धीले नेपालको ‘जेन जेड आन्दोलन’सँग सम्बन्ध जोडेर गरेको सामाजिक सञ्जाल पोस्टपछि भारतीय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। उनले सेप्टेम्बर १८ मा ‘एक्स’ (पहिलेको ट्विटर) मा लेखेका थिए —
यो वक्तव्यपछि राहुल विवादमा तानिए, किनकि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डा, तथा मन्त्रीहरू रविसंकर प्रसाद र गिरिराज सिंह लगायतले तीव्र प्रतिक्रिया जनाएका छन्।
कांग्रेसले पछिल्ला वर्षहरूमा आफ्ना चुनावी हारका कारणहरू ईभीएममार्फत भएको मत चोरीमा जोड्दै आएको छ। दिल्ली विश्वविद्यालयमा विद्यार्थी संघको निर्वाचन भइरहेका बेला राहुलले पत्रकार सम्मेलनमार्फत पनि ‘मत चोरीविरुद्ध जेन जेड उठोस्’ भन्ने आह्वान गरेका थिए।
राहुलको उक्त पोस्टको छ दिनमै भारतीय प्रशासनअन्तर्गतको लद्दाखमा जेन जेड आन्दोलन सुरु भयो। आन्दोलनकै क्रममा एकै दिन चार जनाको मृत्यु भयो। यो आन्दोलन लद्दाखका चर्चित वातावरण अभियन्ता सोनम वाङचुकको समर्थनमा सुरु भएको मानिन्छ। उनी अहिले पक्राउ परेका छन् र उनीसँग सम्बन्धित संस्थाहरूमा आर्थिक अनियमितताको आरोप लागेको छ।
पछिल्ला वर्षहरूमा दिल्लीले काठमाडौंमा गरेको ‘सूक्ष्म व्यवस्थापन’ (micro-management)को अभ्यास अझै पनि जारी रहेको बताइन्छ। तर अब नेपालको युवाआन्दोलनको ताप भारतमा सर्ने संकेतले मोदी सरकारलाई चिन्तित बनाएको देखिन्छ।
सेप्टेम्बर ८ र ९ मा काठमाडौंमा भएको जेन जेड प्रदर्शन र त्यसपछि रणनीतिक रूपमा संवेदनशील लद्दाखमा भएको आन्दोलनले भारतीय राजनीतिमा तरंग ल्याएको छ। साथै, भारतीय मुस्लिम समुदायबीच चलिरहेको ‘आई लभ मोहम्मद’ ट्रेन्डले पनि राजनीतिक वायुमण्डलमा प्रभाव पारिरहेको छ।
५५ वर्षका राहुल गान्धीका लागि यो ऊर्जा नयाँ होइन। उनी दक्षिण तथा पूर्व एशियाका देशहरू — इन्डोनेशिया, फिलिपिन्स, जापान, श्रीलंका, बंगलादेश, नेपाल हुँदै फ्रान्ससम्म फैलिएको जेन जेड विद्रोहबाट प्रेरित भएका छन्। उनी अब जेन जेडलाई नै आफ्नो सत्तामा फर्किने मुख्य आधारका रूपमा देखिरहेका छन्।
राहुलका २८ मिलियनभन्दा बढी फलोअर्स ‘एक्स’ मा छन्। तर हिमाचलबाट निर्वाचित भाजपा सांसद तथा अभिनेत्री कंगना रनौतले व्यंग्य गर्दै लेखिन् — “उनी संसारमा के भइरहेको छ, त्यो पनि बुझ्दैनन्।” तर उनको उक्त टिप्पणीपछि पनि लद्दाखमा, जसको छेउमै हिमाचल पर्छ, जेन जेडहरू सडकमा उत्रिएका छन्, र उनीहरूले अलग राज्यको माग अघि सारेका छन्।
१९८० देखि २००० को दशकको पहिलो दशकसम्म भारतीय कांग्रेसले नेपाली राजनीतिमा पनि बलियो प्रभाव राखेको थियो। त्यसबेलासम्म गान्धी परिवार भारतमा निर्विवाद रूपमा सत्तामा थियो, तर राहुलले अझैसम्म त्यस सत्ताको स्वाद चाख्न पाएका छैनन्।
१९८४ मा कांग्रेसले भारतभर ४१५ सिटसहित ऐतिहासिक बहुमत जितेको थियो, जबकि तत्कालीन जनसंघ (बादमा भाजपा) का हातमा मात्र २ सिट थिए। तर २०१९ मा भाजपा ३०३ सिटमा पुगेपछि कांग्रेस ५२ सिटमा सीमित रह्यो र अहिले धेरै राज्यहरूमा सत्ताबाट बाहिर छ।
