असोजमै रेकर्ड तोडियो: नेपालमा एकै महिनामा २ हजारभन्दा बढी इभी भित्रिए

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार

नेपालमा विद्युतीय सवारीसाधन (इभी) आयातको दर तीव्र गतिमा बढ्दै गएको छ। भन्सार विभागका ताजा तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनामा मात्रै २ हजार १३४ युनिट इभी नेपाल भित्रिएका छन्।

साउन, भदौ र असोज तीन महिनाको अवधिमा कुल २ हजार ६२० युनिट इभी नेपाल आएको भन्सार विभागले जनाएको छ। ती तीन महिनामा ६ अर्ब २५ करोड ५ लाख रुपैयाँ बराबरको इभी आयात भएको हो।

असोज महिनामा मात्रै ४ अर्ब ९७ करोड २१ लाख रुपैयाँ बराबरका इभी भित्रिएका छन्। हाल नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाट क्षमताका विभिन्न ब्रान्डका इभी आयात भइरहेका छन्।

चीन, भारत, जर्मनी, थाइल्याण्ड, कोरिया र अमेरिकासहितका मुलुकबाट इभी आयात हुने क्रम बढ्दो छ। तीमध्ये चीन सबैभन्दा ठूला आपूर्तिकर्ताका रूपमा रहेको छ। चालु आवको तीन महिनामा चीनबाट मात्रै १ हजार ९३७ युनिट इभी नेपाल भित्रिएको छ, जसको मूल्य ४ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ बराबरको छ।

त्यस्तै भारतबाट ४६३ युनिट इभी आयात भएका छन्, जसको मूल्य ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ। थाइल्याण्डबाट २०१ युनिट (५६ करोड ४३ लाख), अमेरिकाबाट ११ युनिट (४ करोड ८१ लाख), जर्मनीबाट ५ युनिट र दक्षिण कोरियाबाट २ युनिट इभी नेपाल भित्रिएका छन्।

तीन महिनाको अवधिमा इभी आयातबाट सरकारले ३ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ राजस्व आर्जन गरेको विभागले जनाएको छ।

क्षमताका आधारमा हेर्दा ५१ देखि १०० किलोवाट क्षमताका इभी सबैभन्दा बढी आयात भएका छन् — जसको संख्या १ हजार ५४५ युनिट रहेको छ। त्यसपछि ५० किलोवाट क्षमताका ७५१ युनिट, १०१ देखि २०० किलोवाटका ३२३ युनिट, र २०१ देखि ३०० किलोवाट क्षमताको एक युनिट इभी नेपाल भित्रिएको छ।

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार