जेनजी आन्दोलनका क्षतिको बीमा भुक्तानी सुरु, कुल दावीको केवल १२% मात्र सम्पन्न

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

काठमाडौं । गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको व्यापक क्षतिको दावी भुक्तानी बीमा कम्पनीहरूले धमाधम सुरु गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरूले झन्डै २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएका छन्। तर यो कुल दावीको केवल करिब १२ प्रतिशत हो। कुल दावी २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको ३,१८७ वटा दावी पेश भएका थिए।

सम्पत्ति बीमा:
घरधनीले पेश गरेका सम्पत्ति बीमालेखका ६७३ वटा दावीमध्ये कम्पनीहरूले २ अर्ब २७ करोड ११ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन्। यसबीच सम्पत्ति बीमामा ११.९४ प्रतिशत मात्र दावी भुक्तानी भएको छ। अझै १६ अर्ब ७४ करोड ८२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

मोटर बीमा:
आन्दोलनका क्रममा सवारी साधनमा भएको क्षतिको दावी ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँ बराबर रहेको छ। हालसम्म ४७ करोड ७७ लाख मात्र भुक्तानी भएको छ। मोटर बीमामा १३.८७ प्रतिशत मात्र दावी भुक्तानी भएको देखिन्छ। अझै २ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा:
१९२ वटा दावी प्रस्तुत भएको यसबीमालेख अन्तर्गत कुल ३६ करोड ७९ लाख रुपैयाँ बराबरको दावी परेको थियो। तर कम्पनीहरूले हालसम्म ४ करोड ६२ लाख मात्र भुक्तानी गरेका छन्।

अन्य बीमा:
अन्य बीमालेखमा ४० वटा दावी परेका थिए, कुल ३८ करोड ७१ लाख बराबर। कम्पनीहरूले २२ लाख ८२ हजार मात्रै भुक्तानी गरेका छन्।

परिवहन बीमा:
अहिलेसम्म परिवहन बीमा अन्तर्गत १२ वटा दावीमा १ करोड ६६ लाख रुपैयाँ दावी परेको भए पनि कुनै भुक्तानी हुन सकेको छैन। प्राधिकरणले कात्तिक ९ गतेसम्मको प्रारम्भिक विवरण सार्वजनिक गर्दै बीमा भुक्तानी प्रक्रिया जारी रहेको र बाँकी रकम क्रमशः वितरण हुने जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार