नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय स्तरबाट सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान गरिएको छ। नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार विज्ञापन प्रकाशित गर्दै अनुभवी र सक्षम कम्पनीहरूलाई आगामी पुस २ गतेसम्म बोलपत्र बुझाउन आह्वान गरेको हो।
२.७ किलोमिटर लामो मुख्य सुरुङ र २.६ किलोमिटर आपत्कालीन सुरुङ तयार भइसकेको भए पनि दक्ष जनशक्ति र सुरक्षा तयारी अभावका कारण अझै सञ्चालनमा आएको छैन। यद्यपि सरकारको तर्फबाट सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर (टोल) दर तोकिसकिएको छ।
सुरुङमा अत्याधुनिक प्रविधि प्रयोग भएकाले यसको निरन्तर सञ्चालन र मर्मतका लागि विशेष सीप र अनुभव आवश्यक हुने जनाइएको छ। सडक विभागको सीमित जनशक्ति र कार्यबोझका कारण आयोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छान्न लागेको हो।
छानिएको सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङ सञ्चालन र मर्मत गर्नेछ। यस अवधिमा विदेशी विज्ञहरूले नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गर्ने र भविष्यमा अन्य फास्ट ट्र्याक तथा सुरुङ परियोजना स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
२४ घण्टा सञ्चालन हुने सुरुङमा दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्काल आपत्कालीन सेवा उपलब्ध गराउनुपर्ने भएकाले सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आपत्कालीन टोली स्थापना गर्ने व्यवस्था गर्नेछ। यसका लागि करिब १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ।
यस अन्तर्गत सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा टोली रहनेछ भने सुरक्षा व्यवस्थापन युनिटमा ६४ जना, टोल संकलनका लागि ५४ जना, ट्राफिक सुविधा र अनुगमनका लागि १४ जना, र सिभिल तथा अन्य संरचना मर्मतका लागि ८/८ जना गरी कुल १५० जनाको संरचना प्रस्ताव गरिएको हो।
सुरुङ सञ्चालनका लागि तयारी तीव्र गतिमा अगाडि बढाइएको र आगामी वर्षभित्र नियमित सञ्चालनमा ल्याउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ।

