६ वर्षपछि बुद्ध एयरको कलकत्ता उडान पुनः सुरु, चार दिन सञ्चालन हुने

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

लामो विरामपछि बुद्ध एयरले भारतको कलकत्तातर्फ सिधा उडान पुनः सञ्चालन गर्ने तयारी पूरा गरेको छ। वायुसेवाले आगामी नोभेम्बर १५ (कात्तिक २९) देखि नियमित उडान सुरू गर्ने जनाएको छ।

बुद्ध एयरका अनुसार सुरुमा साप्ताहिक तीन दिन उडान गर्ने योजना रहे पनि माग र तयारीका कारण तालिका विस्तार गर्दै अब आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी हप्तामा चार दिन उडान हुने भएको छ।

करिब ६ वर्षपछि पुनः सञ्चालन हुन लागेको काठमाडौं–कलकत्ता मार्ग सन् २०१९ (२०७६ जेठतिर) व्यावसायिक कारणले केही महिनामै बन्द गरिएको थियो। कम्पनीले विगतका कमजोरी सुधार्दै पुनः भारतमा सेवा विस्तारको प्रयास स्वरूप यो रुट सञ्चालन गर्न लागेको जनाएको छ।

एटीआर–७२ विमानमार्फत हुने काठमाडौं–कलकत्ता उडान करिब डेढ घण्टाको हुनेछ। बुद्ध एयरले टिकट बुकिङ खुला भइसकेको र प्रारम्भिक भाडा १४ हजार ५०० रुपैयाँदेखि सुरु हुने जानकारी दिएको छ। अधिकतम भाडा ३१ हजार २०० रुपैयाँसम्म तोकिएको छ।

हाल बुद्ध एयरले भारतको बनारस (वाराणसी) गन्तव्यमा नियमित उडान गर्दै आएको छ। कलकत्ता मार्ग पुनः सञ्चालनपछि वायुसेवाले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउने विश्वास लिएको छ।

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार