नयाँ नेतृत्वमा एनआइसी एशिया बैंकको नाफा दोहोरो अंकले बढ्यो

  • Clock icon
    २०८२ कार्तिक २१, शुक्रबार

एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले यस अवधिमा खुद नाफा र सञ्चालन मुनाफा दुबैमा सुधार गरेको देखिन्छ।

नाफामा १०.५२ प्रतिशतको वृद्धि

समीक्षा अवधिमा बैंकले खुद नाफा १०.५२ प्रतिशतले बढाएर १२ करोड २१ लाख रुपैयाँ पुर्‍याएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ११ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको सञ्चालन मुनाफा पनि ११.३० प्रतिशतले बढ्दै १९ करोड ३५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १७ करोड ३८ लाख रुपैयाँ थियो।

 नयाँ नेतृत्वमा सुधारको संकेत

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (CEO) रोशन न्यौपानेको राजीनामा पश्चात् सन्तोष राठीले नेतृत्व सम्हालेका थिए। राठीको नेतृत्वमा बैंकले खराब कर्जा नियन्त्रण गर्दै वित्तीय स्थायित्व र लाभांश क्षमता बढाउन उल्लेख्य सुधार गरेको देखिएको छ। उनीको कार्यकालमा बैंकले देशभरको सेवा विस्तारसँगै सुदृढ जोखिम व्यवस्थापन र दिगो आम्दानी संरचना निर्माणमा प्रगति गरेको हो।

ब्याज आम्दानीमा सामान्य गिरावट

बैंकको खुद ब्याज आम्दानी भने २ अर्ब २८ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ५५ करोड २५ लाख रुपैयाँभन्दा अलिक कम हो।
तर, सञ्चालन नाफा र खुद मुनाफाको वृद्धि बैंकको समग्र प्रदर्शन सकारात्मक रहेको संकेत दिन्छ।

पुँजी र सूचकांक

एनआइसी एशिया बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।
बैंकको

  • प्रति सेयर आम्दानी (EPS): ३ रुपैयाँ २१ पैसा

  • प्रति सेयर नेटवर्थ: १९८ रुपैयाँ ७४ पैसा

यी सूचकांकले बैंकको वित्तीय सबलता र लगानीकर्तामाथिको विश्वासमा निरन्तर सुधार भएको देखाउँछन्।

  • Clock icon
    २०८२ कार्तिक २१, शुक्रबार