प्रशासकहरू सुदनबाट वाक्क

  • Clock icon
    २०८२ कार्तिक २४, सोमबार

जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुदन गुरुङका कारण प्रधानमन्त्री, मन्त्रीहरूदेखि सिंहदरवारका कर्मचारीसम्मले हैरानी खेप्नुपरेको छ ।

उनले कहिले आफैँँ त कहिले अनिल बानियाँलाई पठाएर अनेकौं माग तेर्साउने गरेका छन् ।

११ जनासम्म मन्त्री बनाउँछु भनेर अन्तर्वार्ता दिएकी प्रधानमन्त्री सुशीला कार्कीलाई अर्को मन्त्री कहिले नियुक्त हुन्छ ? र, त्यसरी हुने नियुक्ति आफूले भनेअनुसार हुनुपर्छ भनेर सुदनले दबाब दिँदै आएको प्रशासकहरु बताउँछन् । स्रोतका अनुसार गत साता मात्र सुदनले भावना राउतको नाम लिएका थिए ।

सो विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रधानमन्त्रीसँग सुदन घनघोर रिसाए ।

‘यहाँ आएर गरेको कुरा गोप्य हुँदो रहेनछ, सबै बाहिर आउने हो भने फेरि सडकबाटै मन्त्री छान्नुपर्ने जस्तो छ ।’ सुदनले आक्रोश पोखेका थिए ।

सुदनको आक्रोशलाई प्रधानमन्त्रीले मत्थर पार्न खोजेकी थिइन् । उनले भनिन्, ‘कामहरू सल्लाहमा भएका छन् ।’ तर सुदन हिस्सेदारी खोज्ने गरी प्रस्तुत भएपछि केही दिनमा भेटेर सल्लाह गरौंला भनिदिइन् । त्यसपछि सुदनले कात्तिक ११ गते मुख्यसचिव एकनारायण अर्याललाई भेट्न अनिल बानियाँसहित ५ जनालाई पठाए ।

एक घण्टा छलफल गरे । सरकारी नियुक्तिमा आफ्नो टिमबाट खटिएका व्यक्तिहरू समेटिनुपर्ने माग उनीहरूको थियो ।

रक्षा बमलाई सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको विषयलाई आफूले रोकेको भन्दै सुदनले गृहमन्त्री लक्ष्यित अभिव्यक्ति दिएका छन् ।

कञ्चनपुर घर भएका धिरज जोशी गृहमन्त्री ओमप्रकाश अर्यालको स्वकीय सचिव छन् । उनी बालेनको सल्लाहकार टिममा थिए ।

धिरजकै पहलमा रक्षा मन्त्री हुन लागेको भन्दै उनलाई सुदन रोक्न कस्सिएका हुन् । उनले सुदूरपश्चिमका जेनजीलाई राखेर काठमाडौँको एक रेष्टुरेण्टमा यसबारे छलफलसमेत गरेका थिए । त्यो छलफलका बेला उनले भेप तान्दै गरेको भिडियोसमेत बाहिर आएको छ ।

रक्षालाई रोकेको मन्त्रालयमा भावनालाई पठाउन सुदनले निकै प्रयत्न गरेको बुझिएको छ । भावनाले भने आफू मन्त्री नबन्ने बताएकी छन् । उनको सो स्टाटसपछि सुदनले एक जना मन्त्री जसरी पनि बनाउनुपर्ने र त्यो एनजिओ मामिला हेर्ने मन्त्रालय नै हुनुपर्ने भन्न थालेका छन् ।

प्रधानमन्त्रीको शपथ ग्रहणमा सुदनले सोही मन्त्रालयकी सचिव लक्ष्मी बस्नेतलाई ‘जुम्रा हेरेर बस्ने होइन’ भन्दै हेपेका थिए । अहिले त्यही मन्त्रालयमा आफूनिकट मन्त्री खोज्नुका पछाडि समाजकल्याण परिषदले सुदनको संस्थाका गतिविधि छानबिन गरिरहेको घटनासँग जोडिन्छ ।

समाजकल्याणबाट अनुमति नलिई ‘हामी नेपाल’ले कसरी विदेशबाट झण्डै पौने अर्ब रकम ल्यायो भन्ने प्रश्न उठेको छ । सुदनको संस्थाले गत आर्थिक वर्ष २५ लाख रुपैयाँँको मात्र समाजकल्याण परिषद्बाट स्वीकृति लिएको देखिन्छ । जबकि उनको संस्थाले सार्वजनिक गरेको विवरणअनुसार करोडौं रुपैयाँ ल्याएको छ ।

यही विषयमा समाजकल्याण परिषदले आन्तरिक रूपमा बुझिरहेको छ । सो कुरालाई कमजोर बनाई आफूअनुकूल निर्णय गराउनका लागि महिला मन्त्री आफूले भनेको हुनुपर्ने अडान लिएको उनीनिकट स्रोतले बताएको छ ।

महिला मन्त्रालयको संघ संस्था शाखामा पनि कहिले सुदन त कहिले अनिल बानियाँहरू गएर दबाब दिएको दियै छन् ।
उनीहरूको दबाबबाट वाक्क भएर सचिवले मुख्यसचिवसँग गुनासो गरेकी छन् । कात्तिक ११ गते १० बजे नै महिला मन्त्रालय पुगेर अनिल बानियाँको टोलीले कर्मचारीलाई केरकार गरेको थियो ।
स्रोतले भन्यो, ‘अति नै भयो भनेर सचिवज्यू मुख्यसचिवलाई गुनासो गर्न त जानुभयो तर प्रधानमन्त्री कार्यालयको भुइँतलामा अनिल बानियाँहरूको टोलीसँग जम्काभेट भएछ ।’

महिला मन्त्रालयले सहयोग नगरेको लगायत गुनासा लिएर अनिल बानियाँको टोली मुख्यसचिवकहाँ गएको हो ।
उनीहरूको छलफल सकिनासाथ सचिव लक्ष्मी बस्नेत पुगेकी थिइन् ।गृह मन्त्रालयअन्तर्गत अध्यागमनले पनि सहयोग नगरेको सुदनहरूको गुनासो छ ।
धिरज र सुदनको टकरावको कारण समस्या भयो, समाधान गरिदिनुपर्‍यो भन्दै अनिलले गृहमन्त्रीका निजी सचिवसँग कुरा गरेका छन् ।

‘मन्त्री र सचिवले सहयोग गर्छन् कि गर्दैनन्, विवरण संकलन गरौं, म प्रधानमन्त्रीसँग फाइनल कुरा गर्छु ।’ सुदनले आफ्नो टिमलाई भनेका छन्, ‘मुख्यसचिवको पनि भूमिका कस्तो छ, हेर्नुपर्छ ।’

उता मुख्यसचिवले सकेसम्म समन्वय गरी नचिढ्याउने नीति लिएको तर गैरकानुनी कार्य जसले भने पनि गर्दिनँ भन्ने अडान राखेको बुझिएको छ ।
हरेक मन्त्रालय, विभागबाट सुदनको गतिविधिबारे गुनासो आउन थालेपछि अर्यालले प्रधानमन्त्रीसँग समेत यो विषयमा कुरा गरेको स्रोतले बताएको छ ।

 

जनआस्थाबाट साभार

 

  • Clock icon
    २०८२ कार्तिक २४, सोमबार