बैंकिङ बजारमा सुस्ती : निक्षेप र कर्जा प्रवाह दुवैमा थकान

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार

देशको आर्थिक गतिविधि सुस्त बन्दै गएसँगै बैंकिङ क्षेत्र पनि दबाबमा परेको छ। बजार माग घट्नुका साथै जेनजी आन्दोलन र राजनीतिक अस्थिरताले लगानीको वातावरण कमजोर बनेको कारण बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सुस्ती देखिएको छ।

वाणिज्य बैंकहरूले प्रकाशित गरेका चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यो अवस्थालाई स्पष्ट देखाएको छ। गत आवको असोज मसान्तसम्मको तुलनामा चालु आवमा बैंकहरूको निक्षेप वृद्धिदर न्यून र कर्जा प्रवाह कमजोर देखिएको छ।

गत आवको पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूको निक्षेप संकलन ६४ खर्ब ४३ अर्ब ५० करोड ३४ लाख रुपैयाँ थियो। तर चालु आवको सोही अवधिमा आइपुग्दा ३.३४ प्रतिशत मात्र वृद्धि भई ६६ खर्ब ५९ अर्ब ४ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

निक्षेप वृद्धिदरमा नेपाल एसबिआई बैंक अग्रणी रह्यो, जसको निक्षेप ६.७ प्रतिशत बढ्दै २ खर्ब १२ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको छ। त्यसपछि नबिल बैंकको ६.०७ प्रतिशत वृद्धि भई ५ खर्ब ५६ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ, र ग्लोबल आइएमई बैंकको ५.७४ प्रतिशत वृद्धि भई ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ कायम भएको छ।

त्यस्तै, एनआइसी एशिया (५.७२%), राष्ट्रिय वाणिज्य (५.५३%), कृषि विकास (५.४६%), माछापुच्छ्रे (५.०८%), एभरेष्ट (५.०४%) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (४.५५%)को निक्षेप वृद्धि भएको छ। तर, सिद्धार्थ (-२.५२%), कुमारी (-१.१६%), र प्राइम कमर्सियल (-०.६१%) बैंकको निक्षेप घटेको छ।

निक्षेप रकमको आधारमा भने ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो, जसको कुल निक्षेप ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा नबिल बैंक रह्यो, जसको निक्षेप ५ खर्ब ५६ अर्ब ६१ करोड रहेको छ।

कर्जा प्रवाह पनि सुस्त

निक्षेप संकलन मात्र होइन, कर्जा प्रवाह पनि कमजोर भएको छ। चालु आवको पहिलो त्रैमाससम्ममा बैंकहरूले १.६१ प्रतिशत मात्र कर्जा वृद्धि गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरूले ४६ खर्ब ६३ अर्ब ९ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए, जुन यस वर्ष ४७ खर्ब ३८ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

एभरेष्ट बैंक कर्जा प्रवाह वृद्धिमा अग्रणी रह्यो, जसले ६.५१ प्रतिशत वृद्धि गर्दै २ खर्ब २७ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यसपछि माछापुच्छ्रे बैंकले ५.१ प्रतिशत बढाएर १ खर्ब ४८ अर्ब ६५ करोड पुर्याएको छ।

अन्य बैंकहरूमध्ये कुमारी (३.२४%), राष्ट्रिय वाणिज्य (३.०७%), नेपाल एसबिआई (२.९७%), ग्लोबल आइएमई (२.७१%), लक्ष्मी सनराइज (२.६६%), एनएमबि (२.४३%), र प्राइम कमर्सियल (२.१३%)को कर्जा प्रवाह पनि वृद्धि भएको छ।

तर, एनआइसी एशिया (-५.३१%), स्ट्याण्डर्ड चार्टर्ड (-३.८%), कृषि विकास (-०.०८%), र **हिमालयन बैंक (-०.०५%)**को कर्जा प्रवाह घटेको छ भने सिटिजन्स बैंकको कर्जा स्थिर देखिएको छ।

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार