चालू आर्थिक वर्षको पहिलो त्रैमास (असार–असोज)मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उल्लेखनीय नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु. १५ करोड १३ लाख खुद नाफा गरेको बैंकले यस वर्ष २९५ प्रतिशतले नाफा बढाउँदै रु. ५९ करोड ८७ लाखमा पुर्याउन सफल भएको छ।
नाफासँगै बैंकका अन्य वित्तीय सूचकहरूमा पनि मिश्रित सुधार देखिएको छ। बैंकको व्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप (Deposit) ९.५५ प्रतिशतले बढेको छ। त्यस्तै, कर्जा प्रवाहमा भने ३ प्रतिशत मात्र वृद्धि भएको छ।
कर्जा प्रवाह सोही अनुपातमा नबढेकाले बैंकको कर्जा–निक्षेप अनुपात (CD Ratio) घटेको छ। गत वर्षको सोही अवधिमा ६४ प्रतिशतभन्दा माथि रहेको सीडी रेसियो हाल घटेर ६० प्रतिशतमा पुगेको छ। यसले बैंकमा निक्षेप थप थुप्रिएको संकेत गर्छ।
बैंकको खराब कर्जा (Non-Performing Loan) ९ प्रतिशतले वृद्धि भएको छ। त्यसअनुसार, खराब कर्जाका लागि गरिने प्रोभिजनिङ (Provisioning) पनि ११ प्रतिशतले बढाइएको छ।
साथै, बैंकको आधार दर (Base Rate) र स्प्रेड दर (Spread Rate) दुवै गत वर्षको यही अवधिको तुलनामा घटेका छन्।
बैंकले नाफामा देखिएको उल्लेखनीय सुधारलाई सुदृढ व्यवस्थापन, ब्याज आम्दानीको वृद्धि र व्यावसायिक कार्यक्षमताको नतिजा बताएको छ।
