ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ।
सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाेर्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त आर्थिक वर्षमा बैंकले रु. ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र रु. ५ अर्ब ७ करोड करपछिको नाफा आर्जन गरेको जनाएको छ, जसले बैंकको सशक्त वित्तीय प्रदर्शन झल्काउँछ।
सभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति–नियमको पूर्ण पालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए। साथै, बैंकले नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने रणनीति अवलम्बन गर्ने योजनासमेत उनले उल्लेख गरे।
साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधिहरू, संस्थागत शेयरधनी, सञ्चारकर्मी र कर्मचारीहरूको सहभागिता रहेको थियो। ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेको छ, जसमा बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, र बेष्ट इम्प्लोयर अवार्ड समावेश छन्।
देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंक ग्लोबल आइएमईले हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय मार्फत १,००० भन्दा बढी सेवा केन्द्र बाट सेवा प्रदान गर्दै आएको छ।
यसका साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा संचालन गरी नेपालमा आर्थिक समृद्धिमा योगदान दिँदै आएको छ।
