कामना सेवा विकास बैंकले १९ औं वार्षिकोत्सव मनाउँदै रक्तदान, खेलकुद र नयाँ योजना सार्वजनिक

  • Clock icon
    २०८२ कार्तिक २८, शुक्रबार

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ। बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, अन्तर बैंक फुटलस कप प्रतियोगिता, वित्तीय साक्षरता कार्यक्रम र नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।

रक्तदान कार्यक्रम कार्तिक २७ गते देशव्यापी रूपमा सम्पन्न भएको थियो। बैंकको केन्द्रीय कार्यालय र सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो। विभिन्न स्थानबाट कुल ४२९ पिन्ट रगत संकलन भएको छ।

बुटवल क्षेत्रमा कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले गरेका थिए भने केन्द्रीय कार्यालयमा कार्यक्रम उद्घाटन नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल अस्पतालका भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए।

फुटलस कप प्रतियोगिता (पाँचौं संस्करण) अन्तर्गत पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएका थिए। बैंकका शाखाहरूले विद्यालयस्तरमा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेका थिए; अमरसिंह शाखाले अमरसिंह उच्च माविमा र पोखरा न्युरोड शाखाले पार्दी माविमा कार्यक्रम सम्पन्न गरेका थिए।

वार्षिकोत्सवको अवसरमा बैंकले नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गरेको छ। यो खाता १८ वर्षसम्मका बालबालिकाका लागि लक्षित गरिएको छ। योजनामा, बैंकले खातावालालाई रु. ५० हजारसम्मको जीवन बीमा प्रिमियम भुक्तानी गर्नेछ र आकर्षक सुविधा उपलब्ध गराउनेछ। बैंकको उद्देश्य बालबालिकामा बचत गर्ने बानी विकास गर्नु र अभिभावकलाई वित्तीय सुरक्षा प्रदान गर्नु रहेको छ।

  • Clock icon
    २०८२ कार्तिक २८, शुक्रबार