काठमाडौं महानगरपालिका (केएमसी) ले आफ्नो क्षेत्रभित्र स्थापन हुने सीसीटीभी क्यामेरा सञ्चालनका लागि आवश्यक नेटवर्क सुविधामा नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ।
केएमसी प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले अनुसार महानगरले टेलिकमको अप्टिकल फाइबर र एफटीटिएच (फाइबर टु द होम) प्रयोग गरी प्रत्येक वडामा सीसीटीभी नेटवर्क उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो।
दुवै संस्थाबीच सीसीटीभीबाट प्राप्त हुने फुटेज प्रत्येक अनुगमन कक्षमा उपलब्ध गराउने सहमति भइसकेको छ। यससँगै टेलिकमले सीसीटीभी नेटवर्कको नियमित मर्मत, आकस्मिक क्षति पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार, आपतकालीन अवस्थामा सेवा अविरल राख्ने संरचना, नेटवर्क अनुगमन तथा सेवा अवरुद्ध हुँदा पहिचान र समाधान गर्ने सेवा उपलब्ध गराउनेछ।
सम्झौता अनुसार सीसीटीभी क्यामेरा, राउटरलगायतका सामग्री केएमसीले व्यवस्थापन गर्नेछ भने उच्च–गति आवश्यक परेको अवस्थामा टेलिकमले भविष्यमा आवश्यक ब्यान्डविड्थ उपलब्ध गराउनेछ। प्रविधिको निरन्तर सुधार पनि टेलिकमले गर्दै जाने बताइएको छ।
काफ्लेले यस प्रयासले अन्तर–सरकारी सहकार्यमार्फत सुरक्षित र स्मार्ट सहर निर्माणमा ठोस परिणाम आउने विश्वास व्यक्त गरे।
