तीन महिनामै शिवम सिमेन्टको डेढ अर्ब व्यापार, नाफा झन्डै १६ गुणा उकालो

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार

शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीले तीन महिनाको अवधिमा डेढ अर्बभन्दा बढी व्यापार गर्दै करिब ९ प्रतिशतको वृद्धि हासिल गरेको छ।

कम्पनीले आइतबार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार चालु आवको पहिलो तीन महिनामा १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ बराबरको व्यापार भएको छ। यो गत आवको सोही अवधिको १ अर्ब ४० करोड ६३ लाख रुपैयाँको तुलनामा ९.०३ प्रतिशतले बढी हो।

व्यापारसँगै कम्पनीको नाफा अत्यधिक बढेको छ। गत वर्ष पहिलो त्रैमासमा १ करोड २७ लाख रुपैयाँ मात्र नाफा कमाएको कम्पनीले चालु आवको त्रैमासमा भने २० करोड ९६ लाख रुपैयाँ नाफा कमाउँदै १६.३८ गुणा वृद्धि गरेको छ।

त्यस्तै, कुल नाफा पनि २१५.०७ प्रतिशतले बढेर ३२ करोड ६५ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। शिवम सिमेन्टको हालको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ। जगेडा तथा कोषमा कम्पनीले ५ अर्ब ३ करोड २ लाख रुपैयाँ राखेको वित्तीय विवरणमा उल्लेख छ।

प्रतिसेयर आम्दानी (EPS) उल्लेखनीय रूपमा १४.३५ रुपैयाँले उक्लिँदै १५.३७ रुपैयाँ पुगेको छ। यद्यपि, प्रतिसेयर नेटवर्थ भने १९२.१८ रुपैयाँ कायम रहेको छ।

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार