सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थालाई पूर्ण रूपमा उकास्न सफल भएको छ। नोक्सानीमा रहेको कम्पनीको नाफा, व्यापार र अन्य सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ।
आइतबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार गत आवको पहिलो त्रैमासमा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी बेहोरेको कम्पनीले चालु आवमा भने उल्टो परिणाम निकाल्दै ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। व्यापार विस्तारसँगै कम्पनीको नाफा धनात्मक बन्दै प्रभावकारी सुधार देखिएको हो।
कम्पनीको बिक्री आम्दानी (व्यापार) ९५.३० प्रतिशतले उक्लँदै ६६ करोड ९९ लाख २१ हजार रुपैयाँ पुगेको छ। यो गत आवको पहिलो तीन महिनाको ३४ करोड ३० लाख रुपैयाँभन्दा लगभग दोब्बर वृद्धि हो।
उल्लेखनीय रूपमा, कम्पनीको कुल नाफा ७८८.९१ प्रतिशतको उच्च दरमा वृद्धि भई २३ करोड ३५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १३ करोड ४८ लाख रुपैयाँ धनात्मक रहेर कम्पनीको सञ्चालन क्षमता मजबुत बनेको संकेत देखिन्छ।
सोनापुर मिनिरल्सको हालको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले जगेडा कोषमा २ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ सुरक्षित गरेको छ। समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ५.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।
