राष्ट्र बैंकको ८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्रालयमा पेश

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेश गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर पौडेलले प्रतिवेदन बुझाएका हुन्।

वार्षिक प्रतिवेदन तीन खण्डमा विभाजित गरिएको छ:

  • पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थिति
  • दोस्रो खण्डमा बैंकका कामकारबाही विवरण
  • तेस्रो खण्डमा गत आर्थिक वर्षको वित्तीय विवरण, जसमा अन्तिम लेखापरीक्षण विवरण समावेश गरिएको छ।

प्रतिवेदनअनुसार, विदेशी विनिमय र अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजनअघिको खुद आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।

राष्ट्र बैंक सञ्चालक समितिको २०८२ कात्तिक २८ को बैठकले विभिन्न कोषमा आवश्यक रकम छुट्टयाइ बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। २०८२ असार मसान्तको वित्तीय विवरण अनुसार बैंकको सम्पत्ति तथा दायित्व २८.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब १ अर्ब २३ करोड ८५ लाख ४० हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार, बैंकले वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिबाट चार महिनाभित्र नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। यस ऐनको दफा ३(१) अनुसार बैंकको लेखापरीक्षण, कामकारबाही र आर्थिक–वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सरकारलाई पेश गर्न अनिवार्य छ।