सर्वोत्तम सिमेन्टले लाभांशसँगै सातौँ एजीएम तय

सर्वोत्तम सिमेन्ट लिमिटेडले शेयरधनीहरूलाई बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्तावसहित आफ्नो सातौँ वार्षिक साधारण सभा (एजीएम) मंसिर २६ गते बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको नतिजालाई आधार मानेर लाभांश अनुमोदन तथा आगामी नीतिगत निर्णयहरू पारित गर्ने तयारी गरेको हो।

सभा भैरहवास्थित होटल सिद्धार्थ भिलासा, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ। एजीएमले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

यसबाहेक, कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार दिने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा पनि सभामा प्रस्तुत गर्नेछ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गते बुक–क्लोज मिति तोकेको छ। त्यसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार गरी शेयरधनी बनेकाहरूले एजीएममा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।