बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसभन्दा कम

काठमाडौँ उपत्यकामा लगातार चिसो बढिरहेको छ।

शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम हिजो शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो। आज आइतबार थप घटेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५.४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो।

अब दिनप्रतिदिन चिसो बढ्दै जाने महाशाखाले जनाएको छ ।

यसैगरी मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

यस्तै ,आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै ,आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।