सूर्यविनायक–धुलिखेल ६–लेन विस्तार ५०% पार, काम तीव्र

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको ६ लेन सडक विस्तारको समग्र कार्य ५० प्रतिशत पूरा भएको छ। अरनिको राजमार्गअन्तर्गत पर्ने यो १५.८ किलोमिटर खण्डलाई दुई प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको हो।

पहिलो प्याकेजमा पर्ने सूर्यविनायक–साँगा (८.३ किमी) भागको प्रगति ४५ प्रतिशत पुगेको छ भने दोस्रो प्याकेज साँगा–धुलिखेल (७.५ किमी) खण्डको प्रगति ५५ प्रतिशत पुगेको छ। दुवै खण्डमा अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सडक विस्तार स्थलको अनुगमन गर्दै कार्य प्रगतिबारे विस्तृत जानकारी लिएका छन्। उनले आयोजना प्रमुख, सडक विभागका अधिकारी तथा निर्माण व्यवसायीसँग छलफल गर्दै अनुकूल मौसमको लाभ उठाई कार्यमा थप तीव्रता दिन निर्देशन दिएका छन्।

मन्त्री घिसिङले आयोजनातर्फ बाँकी रहेका निर्णयहरू तत्काल टुंग्याउन र जनशक्ति तथा उपकरण थपेर आगामी असारभित्रै सडक विस्तार पूरा गर्ने लक्ष्यअनुसार काम गर्न आग्रह गरे। उनले अर्थ मन्त्रालयले परियोजनाका लागि आवश्यक बजेट प्रतिबद्ध गरिसकेको र आगामी दिनमा बजेट अभाव नहुने स्पष्ट पारे।

यसअघि सडक सीमा विवाद, घरटहरा हटाउने चुनौती, र बजेट अभावका कारण आयोजनाको गति प्रभावित भएको थियो। चालु आर्थिक वर्षमा आयोजना लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भए पनि आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ।

बनेपा बजार क्षेत्रमा देखिएका अवरोधबारे मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी समस्याको समाधानका लागि आवश्यक सहयोग गर्न आग्रह गरे। दुवै प्याकेजमा टेवा पर्खाल र नाली निर्माणको ९५ प्रतिशत कार्य पूरा भएको छ। साथै साँगा–धुलिखेल खण्डमा २ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।