देशको तेल उद्योगमा द्रुत विस्तार गर्दै आएका एबीसी आयल इन्डस्ट्रीजले एक वर्षमै उल्लेखनीय व्यावसायिक उछाल देखाएको छ। केयर रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको कुल कारोबार सन् २०२५ मा ४ अर्ब ३५ करोड ९० लाख रुपैयाँ पुगेको छ, जो एक वर्षअघिको तुलनामा ३.०८ गुणा बढी हो। सन् २०२४ मा कम्पनीले १ अर्ब ४१ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
लगातार विस्तार र निर्यातमैत्री वातावरणले दियो बल
कम्पनीले गत वर्षभन्दा अघिल्लो वर्ष सन् २०२३ मा पनि २ अर्ब १२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। निर्यातमैत्री नीति, भारतीय बजारमा मागको वृद्धि र कच्चा तेल आयात सहजताले व्यापार वृद्धिमा सकारात्मक प्रभाव पारेको कम्पनीको भनाइ छ।
सन् २०२१ मा स्थापना भई २०२२ मेदेखि व्यावसायिक उत्पादन शुरू गरेको एबीसी आयल हालसालै पब्लिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीको वार्षिक प्रशोधन क्षमता ६० हजार मेट्रिक टन रहेको छ।
उत्पादन क्षमता
-
३६,000 मेट्रिक टन पाम तेल
-
१२,000 मेट्रिक टन सनफ्लावर तेल
-
१२,000 मेट्रिक टन भटमास (सोया) तेल
कम्पनीले कच्चा तेल इन्डोनेसिया, मलेसिया, रुस, अर्जेन्टिना, चीन र युक्रेनबाट आयात गर्छ। प्रशोधनपछि उत्पादन हुने तेल नेपाली बजारसँगै भारतमा ठूलो परिमाणमा निर्यात गरिएको छ।
भारतको भन्सार नीतिले प्रभाव
गत वर्ष भारतले कच्चा र प्रशोधित तेलमा भन्सार दर वृद्धि गरेपछि नेपाली उद्योगहरूलाई प्रत्यक्ष लाभ पुगेको थियो।
-
कच्चा सनफ्लावर तेलमा २०%
-
प्रशोधित तेलमा ३२.५% भन्सार वृद्धि
यसले नेपाली प्रशोधन उद्योगको निर्यात प्रतिस्पर्धा उल्लेख्य रूपमा बढाएको थियो। तर, हाल भारतले कच्चा तेलमा भन्सार १०% मा झारेको र प्रशोधित तेलमा आयात शुल्क २७.५% बाट १६.५% मा कटौती गरेकाले भविष्यमा व्यापार प्रवाहमा केही उतार–चढाव आउने उद्योगहरूले अनुमान गरिरहेका छन्।
कर्जा रेटिङ
एबीसी आयल इन्डस्ट्रीज हाल अध्यक्ष सञ्जय कोइरालाको नेतृत्वमा सञ्चालित छ। कम्पनीले कर्जा सुविधाका लागि २ अर्ब ६० करोड २५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ—
-
३० करोड २५ लाख दीर्घकालीन कर्जा
-
२ अर्ब ३० करोड अल्पकालीन कर्जा
