नेपाल वायुसेवा निगम (नेवानि) काे रिक्त महाप्रबन्धक पदका लागि १६ जनाले प्रतिस्पर्धात्मक रूपमा आवेदन दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७ कात्तिकदेखि १५ दिने सूचना जारी गर्दै आवेदन माग गरेको थियो। आवेदन दिने अन्तिम दिन बिहीबार कार्यालय समयसम्म प्राप्त दरखास्त संख्या मन्त्रालयले सार्वजनिक गरेको हो।
मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार अब महाप्रबन्धक छनोट प्रक्रिया “नेवानि महाप्रबन्धक छनोट कार्यविधि–२०८२” अनुसार अघि बढ्नेछ। सिलबन्दी दरखास्त आइतबार खोल्ने तयारी गरिएको छ।
यसपटकको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ, किनकि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व कर्मचारीदेखि नेवानिका निर्देशक, हवाई क्षेत्रका अनुभवी विज्ञ, इन्जिनियर तथा नयाँ अनुहारसमेत आवेदनकर्तामा परेका छन्।
निगमका लागि महाप्रबन्धक सिफारिस गर्ने जिम्मेवारी सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन गरिएको छानोट समितिलाई दिइएको छ। समितिले योग्यता पुगेका उम्मेदवारहरूको सर्टलिस्ट बनाएर कार्यपत्र प्रस्तुति, अन्तर्वार्ता तथा अन्य मूल्यांकन चरण अघि बढाउने छ।
मूल्यांकन सकिएपछि उपयुक्त ठहरिएका तीन जनाको नाम मन्त्रालयमा सिफारिस गरिनेछ। तिनैमध्ये एक जनालाई आगामी चार वर्षका लागि नेवानिको महाप्रबन्धक नियुक्त गरिने मन्त्रालयले जनाएको छ।
