काठमाडौँ । एसियाली विकास बैंक (ADB)ले नेपाललाई १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालय मा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा अर्थ सचिव घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वा ले हस्ताक्षर गरे ।
सम्झौताअनुसार ऋणको ग्रेस अवधि ८ वर्ष र कुल भुक्तानी अवधि २४ वर्ष हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहने यो ऋणमा ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत कायम रहनेछ ।
सार्वजनिक वित्त व्यवस्थापन सबलीकरणका लागि प्रदान गरिने यो सहायता नीतिमा आधारित ऋणका रूपमा रहेको जनाइएको छ ।
कार्यक्रममा सहसचिव धनीराम शर्मा ले खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारी स्रोत व्यवस्थापन सुधार यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय ले वित्तीय अनुशासन, बजेट निर्माण, खर्च व्यवस्थापन र स्थानीय सरकार सशक्तीकरणमा कार्यक्रमको योगदान रहने अपेक्षा व्यक्त गरे ।